येँ ग्लायरीमा बंगालीको प्रदर्शनी



भौगोलिक सीमाले मानिसलाई छुट्टयाए पनि कला र संस्कृतिले यो सीमालाई नजिकबाट जोड्ने काम गर्छ। यही सम्बन्ध जोड्नका लागि अहिले दुई बंगलादेशी कलाकारका चित्र तथा मूर्ति प्रदर्शनी मिथिला येँ आर्ट ग्यालरीमा चलिरहेको छ। महम्मद सैफुल इस्लाम र जाहिदा अख्तर कलाकार जोडीको नेपालमा भने पहिलोपटक कला प्रदर्शनी भएको हो।

नेपाल र बंगलादेशबीचको सम्बन्धलाई प्रगाढ बनाउन सम्बन्ध शीर्षकमा प्रदर्शनी गरिएको कलाकार जोडीले बताए। मिथिला येँ ग्यालरीको आयोजनामा गरिएको प्रदर्शनीमा १५ वटा चित्र र ५ वटा मूर्ति राखिएको क्युरेटर श्यामसुन्दर यादवले बताए। नेपाल र बंगलादेशबीचको सम्बन्ध सेतुका रूपमा यो प्रदर्शनी गरिएको चर्चा गर्दै यादवले भने– ‘नेपालमा विदेशी कलाकारका कलाकृति प्रदर्शन गर्नु भनेको त्यहाँको कला शैलीलाई बुझ्न र एकअर्काप्रतिको सद्भाव बढाउनका लागि पनि यस्ता कार्यक्रमको महत्त्व रहने भएकाले हामीले प्रदर्शनीका आयोजना गरेका हौं।

प्रकृति र संस्कृतिमा सम्पन्न नेपालमा कला प्रदर्शनी गर्नु आफ्ना लागि ठूलो अवसर भएको चर्चा गर्दै कलाकार सैफुलले भने– ‘नेपाली कला र संस्कृतिले हामीलाई निकै मोहित पारेको छ। यहाँको प्रकृति र संस्कृतिको अनुपम सौन्दर्य कला रचनाका लागि निकै उपयुक्त रहेको छ।

मानवीय सम्बन्ध र प्रकृतिबीचको कलात्मक संयोजन गरी कलाकारद्वयले कलाकृति बनाएका छन्। मानव जाति जहाँ पुगे पनि उसको जीवन निरन्तर संघर्षसँगै आशाको उज्यालो सम्भावना खोज्दै अविरल बगिरहन्छ। कलाकारद्वयले कलाका माध्यमबाट समाजमा सद्भाव खोज्दै शान्ति र कल्याणका अग्रसर हुन मानव जातिलाई उत्प्रेरणा भर्ने काम गरेका छन्।

नेपाली र बंगलादेशका कलाका विद्यार्थीलाई संस्कृति आदानप्रदान गर्दै कलाका विविध आयाम र परिवेश बुझाउनका लागि दुवै देशमा शैक्षिक भ्रमण गराउनुपर्नेमा जोड दिँदै जाहिदाले भनिन्– ‘हामीले यसमा सक्दो सहयोग गर्नेछौं। बुधबारदेखि शुरू भएको प्रदर्शनी शनिबार सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्