चीनमा रगतको खोलो बगाइदिने धम्की दिने उइगर मुस्लिम के हो ?



बेइजिङ, (एजेन्सी)
मध्यपूर्वमा इस्लामिक कट्टरपन्थी आईएसमा आबद्ध भइसकेका उइगर विद्रोहीले चीन फर्कने घोषणा गरेका छन्। उनीहरूले चीनमा रगतको खोलो बगाइदिने धम्की दिएका छन्। उइगर चीनको अल्पसंख्यक मुस्लिम समुदाय हुन्। पृथकतावादी उइगुर आन्दोलनमाथि बेइजिङको दमनकारी नीतिका कारण केही विद्रोही इराक र सिरियामा उदयमान आईएस समूहको सदस्य बन्न गएका थिए।

चीनमा मुस्लिम समुदायका थुप्रै धार्मिक गतिविधिमाथि रोक लगाइएको छ। चीनमा २ करोडभन्दा बढी मुस्लिम आवादी रहेका छन्। यहाँ ३० हजारभन्दा धेरै मस्जिद र १० भन्दा धेरै मुस्लिम जातीय समूह छन्। तीमध्यको एक उइगर समुदाय पनि पर्न आउँछ।

उइगर मुसलमान आफूलाई चीनको हिस्सा मान्न तयार छैन। टुर्क मूलका उइगर मुसलमानको चीनको सिन्जियाङ प्रान्तमा करिब १ करोडको आवादी रहेको छ। उइगर मुसलमान तुर्केली भाषा बोल्छन्। चीनले उइगर नेता मुस्लिम बाहुल्य सिन्जियाङ प्रान्तमा आतंकवाद फैलाइरहेको आरोप लगाउँदै आइरहेको छ। उसले उइगर मुसलमानलाई भड्काउने कार्यमा सलंग्न रहेको आरोप पाकिस्तानमाथि पनि लगाएको छ। पाकिस्तानको केही इलाकामा उइगर मुसलमानलाई लडाकू तालिम दिने गरेको चीनको आरोप छ।

सिन्जियाङमा रहेका उइगर मुस्लिम चीनविरुद्ध अभियान चलाइरहेका छन्। पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्टको उद्देस्य चीनबाट अलग हुनु हो। वास्तवमा सन् १९४९ मा पूर्वी तुर्किस्तान नै अहिले चीनको सिन्जियाङ प्रान्त हो। सिन्जियाङले एउटा अलग राष्ट्रका रूपमा केही समयका लागि पहिचान पाएको थियो तर सोही वर्ष चीनको हिस्सा बनेको थियो।

सन् १९९० मा सोभियत संघको पतनपछि यस क्षेत्रमा स्वतन्त्रताका लागि केहीले ठूलो संघर्ष गरेका थिए। उक्त आन्दोलनलाई मध्यएसियाका केही मुस्लिम देशको सहयोग पनि मिलेको थियो तर चिनियाँ सरकारको अगाडि त्यसको कुनै जोड चलेन।

विगत केही समयावधिमा सिन्जियाङमा हान चिनियाँको संख्यामा पर्याप्त वृद्धि भएको छ। यसले उइगर मुस्लिम अल्पसंख्यक बन्दै गइरहेका छन् भने उनीहरूको आन्दोलनलाई पनि दबाउन मद्दत पुगेको छ। उक्त प्रान्तबाट हान चिनियाँ र उइगर मुस्लिमबीच भिडन्तको समाचार आइरहेको हुन्छ।

सन् २००८ मा सिन्जियाङको राजधानी उरुम्चीमा भएको हिंसामा करिब २ सय जनाको मृत्यु भएको थियो। जसमा अधिकांश हान चिनियाँ थिए। त्यसपछि सन् २००९ मा उरुम्चीमा भएका दंगामा १ सय ५६ उइगुर मुस्लिम मारिए।

चीन सरकारले सन् २०१४ मा सरकारी सेवामा रहेका उइगर मुसलमानलाई पाँच पटकको नमाजमाथि रोक लगाएको थियो। चीनले उइगर मुस्लिमलाई दारी राख्न रोक लगाएको छ। उइगर महिलालाई बुर्का लगाउन पनि निषेध गरिएको छ। चीनले सन् २००८ मा दंगा बढेपछि दारी राख्न रोक लगाएको थियो। यद्यपि अहिले पनि उइगरमा लामो दारी पाल्ने धेरै मुस्लिम छन्।

उइगर महिलालाई बुर्का लगाएर पेट्रोल स्टेसन, बैंक र अस्पताल जान रोक लगाएको थियो। उनीहरूमाथि सरकारी नोकरी गर्न पनि रोक लगाएको थियो। समुदायमा महिलालाई हिजाब वा बुर्का लगाउनुपर्छ भने कुनै बाध्यता छैन। यद्यपि धेरैजसो महिला बुर्का लगाउने गर्छन्।

ताइपेक उइगर मुस्लिम जगत्मा सबैभन्दा सानो टोपी हो। यो टोपी लगाउने उइगर महिला विवाहित हो भन्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्