सोनापुर सिमेन्टले जनता हैरान



प्रशान्त वली, दाङ
बिजौरी–१ दुधरास चोकदेखि करिब १ किलोमीटर टाढा पर्छ सोनापुर सिमेन्ट उद्योग। घोराही–तुलसीपुर सडक खण्डको दुधरासबाट सडकदेखि केही पर पुग्ने हो भने उद्योग क्षेत्र प्रस्टै देखिन्छ।

त्यहाँ बिहानैदेखि मजदुरहरू धुलाम्य भएर काम गरिरहेका देखिन्छन्। उद्योगका लागि आवश्यक पर्ने चुन ढुंगा रोल्पाबाट आयात गरिन्छ। बिजौरी–१ दुधरासमा स्थापना भएको सोना सिमेन्ट उद्योगबाट आउने धुवाँ र धूलोका कारण स्थानीयहरू निकै मर्कामा परेका छन्।

जनकल्याण उच्च माध्यमिक विद्यालय बिजौरी–१ दुधरासमा कार्यरत एक शिक्षकले आफू होस्टेलमा बस्दा राति ९ बजेपछि धुँवा र धूलोले आफू मात्र नभई विद्यार्थीलाई निकै सताएको प्रतिक्रिया दिए। नाम नभन्ने सर्तमा ती शिक्षक भन्छन्– ‘म होस्टेलमा बस्छु। ९ बजेसम्म त्यस्तो केही हुँदैन। जब ९ बज्छ यो क्षेत्र निकै धुलाम्मे र आवाज पनि फरक प्रकृतिको आउँछ।

उद्योगले विद्यालयलाई फकाउन सटर हाल्दिन्छु भनेको रहेछ। अहिलेसम्म केही गरेको छैन।

उद्योग प्रशासनले पटक—पटक उद्योगमैत्री वातावरण बनाउने भनेर आश्वासन दिए पनि आश्वासन कार्यान्वयनमा परिणत हुन सकेको छैन।

विशेषतः धुवाँ, धुलोका कारण स्थानीय पीडित बन्नुपरेको छ। सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा भइरहेका छन्। त्यस क्षेत्रमा करिब एक दर्जन विद्यालय छन्। साढे ५ अर्ब लगानी रहेको सो उद्योगले अहिले दैनिक १ हजार ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ। निकट भविष्यमै ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ।

उद्योगले सो क्षेत्रमा बोरिङ खन्दा इनारहरू गर्मी मौसममा सुक्ने गरेको स्थानीय मानपुर–९ झिगैं निवासी गिरीराज डाँगीले जानकारी दिए। उद्योगमा २ सय ८० कर्मचारी कार्यरत छन्। जसमध्ये अधिकांश भारतका छन्। उद्योगबाट आउने धुवाँ ,धुलो र आवाजले निकै हैरानी खेप्नुपरेको र प्रत्यक्ष रूपमा विद्यार्थीहरूलाई समस्या भएको जनकल्याण उच्च माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जगन्नाथ अधिकारीले बताए। अधिकारी भन्छन्– ‘उद्योग स्थापना गर्दा हामीसँग समन्वय भएन। उद्योगबाट निस्कने धुलो र धुँवाले रोग निम्तेला कि भन्ने डर भइसक्यो। तसर्थ यस विषयमा उद्योग प्रशासन गम्भीर हुनुपर्ने देखिन्छ। सिमेन्ट उद्योग सञ्चालनका लागि बोरिङ तान्दा बिस्तारै पानीका मुहानहरू सुक्ने अवस्थामा रहेकाले आफूहरू दाङ बचाउ अभियान सञ्चालन गर्ने सोचमा रहेको नेपाल पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल बताउँछन्।

उता, उद्योग प्रशासनले धुवाँ र धुलो नियन्त्रणका लागि प्रविधि जडान गरेको बताएको छ। धुँवा नियन्त्रणका लागि साइलेन्सर र धुलो नियन्त्रणका लागि इएसटी जडान गरिएको उद्योगका प्रबन्धक रेवन्त ढकालले जानकारी दिए।

धुलो नियन्त्रण गर्ने त भन्नुहुन्छ तर उद्योगभित्र छिर्नै सकिँदैन कसरी काम गरिरहेका छन् कामदारहरूले भन्ने जिज्ञासामा प्रबन्धक ढकाल भन्छन– ‘अबको असार मसान्तसम्म सिमेन्ट उद्योग क्षेत्रभित्र सडक पिच गरिन्छ। र, वृक्षारोपण गर्ने पनि तयारी थालेका छौं। धुलो पूर्ण नियन्त्रण गर्ने भन्ने त हँुदैन तर, केही न्यूनीकरण भने अवश्य हुन्छ। उद्योगले वृक्षारोपण गर्ने भने पनि हुर्किएका बोटबिरुवाहरू बिस्तारै सुक्दै गएका छन्। ५ सयभन्दा बढी बिरुवा उद्योग क्षेत्रभित्र लगाएको देखिए पनि धुवाँधुलोका कारण बिस्तारै सुक्दै गएका छन्।

उता उद्योग विभागले सो उद्योगले पेस गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई आधार मानेर आफूहरूले उद्योगको अनुगमन गर्ने बताएको छ। उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले मापदण्डभन्दा बढी ध्वनि र धुलो प्रदूषण गरेको पाइए वातावरण ऐनबमोजिम कारबाही गरिने बताउनुभयो। विभागका प्रवक्ता भुषालले भन्नुभयो, ‘उजुरीका आधारमा विभागका शाखा अधिकृत जोरासिंह माझीको नेतृत्वमा अनुगमन टोलीलाई उद्योग स्थल दाङ खटाइसकेका छौं। छिट्टै अनुगमन टोलीको प्रतिवेदन बाहिर आउँछ।

प्रतिक्रिया दिनुहोस्