रूपन्देहीका २६ गाविस वडामा परिणत



यमलाल भुसाल, बुटवल
स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदनअनुसार रूपन्देहीका २६ वटा गाविस गाउँपालिकाको वडा बन्ने भएका छन्। रूपन्देहीमा १६ स्थानीय तहको प्रस्ताव गरिएको छ। जसअनुसार १ उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँपालिका हुनेछन्। जिल्लाका दक्षिणतर्फ पर्ने कतिपय गाविस अब गाउँपालिकाको एउटा वडा बन्नेछन्।

सिंगो साँडी गाविस र जोगडा गाविस गैडहवा गाउँपालिकाको क्रमशः १ र २ नम्बर वडा हुनेछन्। कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा सिपवा, २ मा सक्रोनपकडी, ३ मा मर्यादपुर, ४ मा बैरघाट र ५ मा मझगवा गाविस रहनेछन्। मर्चवारी गाउँपालिकाको १ नम्बर वडामा सेमरा मर्चवार गाविस रहनेछ। मायादेवी गाउँपालिकाको १ नम्बर वडामा धमौली गाविस रहनेछ। ओमसतिया गाउँपालिकाका ६ वटा वडामध्ये ४ वटा वडामा सिंगो गाविस परेका छन्। ओमसतियाको वडा नम्बर ३ मा हाटी फर्साटिकर, ४ मा वसन्तपुर, ५ मा पट्खौली र ६ मा छोटी रामनगर रहेका छन्।

त्यसै गरी रोहिणी गाउँपालिकाको बगाह, पोखरभिण्डी, धकदई, छिपागढ क्रमशः १ देखि ४ नम्बर वडा बन्नेछ र पजरकट्टी गाविस ९ नम्बर वडाको रूपमा रहनेछ। सम्मरीमाई गाउँपालिकाको ३ देखि ७ नम्बर वडासम्म क्रमशः थुमवापिपरहवा, फरेना, रोहिनिहवा, असुरैना, बेतकुइया रहेका छन्। सियारी गाउँपालिकामा चिल्हिया, मैनिहया, हर्नैया गाविस क्रमशः १, २ र ३ नम्बर वडाका रूपमा रहनेछन्। यस्तै सूर्यपुरा गाविसका २ वटा वडा गाउँपालिकाको पनि वडाकै रूपमा कायम हुने भएका छन्। साविक सूर्यपुराको १ नम्बर वडा अब गैडहवा गाउँपालिकाको ९ नम्बर वडा र २ गैडहवाको ८ नम्बर वडा रहनेछ।

नगरपालिकाहरूमा पनि वडा संख्या घटाइएको छ। जसअनुसार बुटवल उपमहानगरपालिकामा १९ वटा वडा कायम हुनेछ। १ देखि ३ सम्मको वडालाई १ नम्बर वडा बनाइएको छ। ४ लाई २, ५ लाई ३ गरी क्रमशः वडा कायम गरिएको छ। २१ र २२ लाई १९ नम्बर वडा बनाइनेछ। देवदह नगरपालिकामा १२ वटा मात्र वडा बनाइनेछ। ४ र ५ लाई मिलाएर एउटा वडा बनाइएको छ। सिक्टहन गाविसका ६ वडा समेटी नगरका २ वटा वडा बनाइएको छ। तिलोत्तमा नगरपालिकाको २४ वटा वडाबाट घटाएर १७ मा झारिएको छ। सैनामैना नगरपालिकालाई १३ बाट घटाएर ११ वडा कायम गरिएको छ। सालझन्डी गाविसलाई समेत सैनामैना नगरपालिकामा समेटिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा संख्या २१ बाट घटाएर १३ वटा कायम गरिएको छ। यस्तै सिद्धार्थनगर नगरपालिकामा अहिले कायम भएअनुसार नै १३ वटा वडा नै कायम गरिएको छ। गाउँपालिकामा ५ वटा देखि ९ वटासम्म वडा कायम गरिएको छ। जसअनुसार गैडहवा गाउँपालिकामा ९ वटा, कञ्चनमा ५ वटा, कोटहीमाई, रोहिणी, सम्मरीमाई, सियारीमाई, मर्चवारी र शुद्धोदन गाउँपालिकामा ७–७ वटा वडा कायम गरिएको छ भने मायादेवीमा ८ वटा र ओमसतियामा मात्र ६ वटा वडा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्