स्थानीयको आन्दोलनपछि सडक निर्माण शुरू



नेपाल समाचारपत्र,बारा
स्थानीयको आन्दोलनपछि सडक डिभिजन कार्यलय हेटौडाले पूर्वपश्चिम राजमार्गको धूलो नियन्त्रण गर्न बाराको निजगढस्थित शहीद चोकमा ढलान र नाला निर्माण शुरू गरेको छ। सडक कार्यालयको ताकेतापछि ठेक्कामार्फत शुरू भएको निर्माणाधीन शहीद हीरालाल मार्गको अलपत्र कामसमेत सुचारु भएको छ।

वर्षाको भलले पानी जमेर भत्किएको सडकमा हिउँद लागेसँगै उडेको धूलो नियन्त्रण गर्ने माग राखेर स्थानीय व्यवसायीले शुरू गरेको आन्दोलनपछि कार्यालयले ठेक्कामार्फत ३० लाख रुपियाँमा ६० मिटर ढलान, ४० मिटर कालोपत्रे र राजमार्गको उत्तरी किनारामा १ सय ५० मिटर पक्की नाला निर्माणकार्य शुरू गरेको हो।

भत्किएको सडक मर्मतमा सडक कार्यालयले चासो नदेखाएको र धूलो उढेर जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले दुई साताअघि राजमार्गमा बिहान १ घण्टाको दरले ४ दिनसम्म यातायात अवरुद्ध पारेका थिए। पीडित व्यवसायीले सडकमा उत्रिएर राजमार्ग अवरोध गरेपछि कार्यालयले सडक मर्मतसँगै नाला र शहीद मार्गको अधुरो कार्यसमेत तत्काल सुचारु गर्ने सहमति गरेको थियो।

सडक कार्यालयका इन्जिनियर जयराम अधिकारीले २ महिनाभित्र सम्पन्न गर्ने गरी राजमार्गमा ढलान र नाला निर्माणको काम शुरू भएको जानकारी दिए। उनका अनुसार हीरालाल मार्ग भने ठेकेदारसँगको सम्झौता अनुरूपअसार मसान्तभित्र पूरा भइसक्नेछ। ‘ढलान, नाला र शहीद मार्गको काम सम्पन्नपछि धूलोको समस्या अन्त्य हुनेछ’, इन्जिनियर अधिकारीले भने– ‘स्थानीयको दबाबले तत्काल काम शुरू गर्न सम्भव भयो।’ निर्माण कार्य शुरू नभएसम्म हरेक दिन १ घण्टाका दरले राजमार्ग अवरुद्ध पार्ने क्रम बढाउँदै लैजाने चेतावनी दिएपछि कार्यालयले ठेक्का प्रक्रियामार्फत मर्मत र निर्माण कार्य शुरू गरेको थियो।

राजमार्गको उत्तरतर्फ निर्माण शुरू भएको पक्की नाला र शहीद हीरालाल मार्गमा भएको ढिलासुस्तीले वर्षाको भल पानी जमेर राजमार्गका ठाउँठाउँमा करिब १ सय मिटर क्षेत्र एक वर्षअघि भत्किएको छ। वर्षामा हिलाम्मे हँुदै आएको राजमार्गमा हिउँद लागेसँगै धूलोको प्रकोप शुरू भएको हो।

सडक र नाला निर्माण निम्ति एक वर्षअघि ठेक्का पाएको ठेकेदारले काम अधुरो छोडेर ७ महिनादेखि बेपत्ता बनेपछि पीडित स्थानीयले अघिल्लो वर्षायाममा हिलाम्मे सडकमा धान रोपेका थिए भने यसअघि मुखमा मास्क बाँधेर राजमार्गमा पटकपटक प्रदर्शनसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्