टोरेसको स्वास्थ्य सुधारोन्मुख



मेड्रिड, (एजेन्सी)

स्पेनीस ला लिगाअन्तर्गत बिहीबार राति भएको डेपोर्टिभो ला कोरुनाविरुद्धको खेलको क्रममा गम्भीर घाइते भएका एट्लेटिको मेड्रिडका स्ट्राइकर फर्नान्डो टोरेस अस्पतालबाट घर फर्केका छन्।

डेपोर्टिभोको खेलाडीसँग जुधेलगत्तै टोरेस अचेत बनेका थिए। वैकल्पिक खेलाडीको रूपमा ६७औं मिनेटमा मैदान आएका टोरेस खेलको ८५औं मिनेटमा डेपोर्टिभोका एलेक्स बर्गान्टिनोससँग एअर बल हेडिङ गर्ने क्रममा जुध्न पुगेका थिए। उनी मैदानमै बेहोस भएका थिए। यसपछि उनलाई अस्पताल पुर्याएर उपचार गराएपछि स्वास्थ्यलाभ भएकोमा अस्पतालबाट उनी शुक्रबार बेहान नै छुट्टी भए।

टोरेसलाई आगामी ४८ घण्टासम्म आरामको आवश्यक भएको चिकित्सकहरुले बताएका छन्। ३२ वर्षीय स्पेनी स्ट्राइकरको तर्फबाट निकालिएको विज्ञप्तिमा उल्लेख थियो– ‘यो एकदमै डरलाग्दो थियो। तर अहिले म ठिक हुँदै छु र चाँडै नै मैदानमा फर्कनेछु पनि।’

यसअघि मैदानमा टोरेस ढलेकोमा पोस्ट म्याच कन्फ्रेन्समा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भयानक घटना भएको भन्दै चिन्तित भएको बताए। उनले भने– ‘हामीले बेन्चबाट नराम्रो आवाज सुन्यौं र देख्यौ कि उनी कसरी भुइँमा ढले। उनको गर्धनमा वा नाकमा चोट लागेको भन्नेमा हामीले ठम्याउन पनि सकेनौं। हामी साहै्र नर्वस भएका थियौं।

खेल बराबर

टोरेसको डरलाग्दो चोटले आहत भएको एटलेटिको मेड्रिडले स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा डेपोर्टिभो ला कोरुनासँग १–१ गोलको बराबरी खेलेको थियो। डेपोर्टिभो ला कोरूनाको घरेलु मैदानमा भएको उक्त खेलको १३औं मिनेटमै एन्डोनेको गोलबाट डेपोर्टिभो ला कोरुनाले शुरूआती अग्रता लिएको थियो। तर खेलको ६८औं मिनेटमा फ्रेन्च स्ट्राइकर एन्टोनियो ग्रिज्म्यानले एट्लेटिको तर्फबाट बराबरी गोल फर्काए। तर पछि टोरेसको चोटपछि खेलमा दुबै तर्फका खेलाडीले खेल्न नसकेको बताएका थिए।

डेपोर्टिभो ला कोरुनासँग बराबरी खेलेपछि ला लिगाको चौथो स्थानमा रहेको एट्लेटीको शीर्षस्थानको बार्सिलोनासँग ११ अंकले पछाडि परेको छ। एट्लेटीकोले २५ खेलबाट ४६ अंक जोडेको छ। यस्तै समान खेलबाट शीर्षमा स्थानमा रहेको बार्सिलोनाको ५७ अंक छ। यता १७औं स्थानमा रहेको डेपोर्टिभो ला कोरुनाको २५ खेलबाट २० अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्