पूर्वाञ्चल पुष्प व्यापार मेला हुँदै



काठमाडौं, (नेस)
पूर्वाञ्चलका मुख्य तीन जिल्ला सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकारिक बोट बिरुवाको व्यावसायिक विकास, बिस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ। फागुन २३ गतेदेखि २५ गतेसम्म धरानको अमान बजार, छाता चोकमा सञ्चालन हुने प्रदर्शनीको नारा ‘घर आँगन होस या नदी किनारा, रोपी स्वदेशी फूल विरुवा बनाऔ पूर्वाञ्चल हराभरा’ भन्ने रहेको छ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न पुष्प तथा आलंकारिक बोट बिरुवाको विकास, विस्तार, पहिचान एवम् गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका कार्यक्रमहरु देशका विभिन्न भागमा फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गर्दै आएको जनाएको छ।

पूर्वाञ्चल पुष्प व्यापार मेलाको उद्देश्य सुनसरी, मोरङ र झापाका पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउनु रहेको आयोजकको भनाइ छ।
पुष्प व्यवसायीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने प्रदर्शनीमा प्रथम, द्वितीय तथा तृतीय नर्सरी घोषणा गरी शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ।मेलामा व्यावसायिक स्टल १३, सूचनामुलक १ र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा १५ वटा प्रदर्शनी कक्ष रहने छन्।

आव २०७२÷७३ सम्म ३९ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरीहरु बिस्तार भइसकेको छ। लगभग १४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आव २०७२÷७३ जम्मा १ अर्ब ३४ करोडभन्दा बढीको कारोबार गरेको थियो। मेलामा १० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै १० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्