सुनचाँदी सम्बन्धी निर्देशिका अन्तिम चरणमा



काठमाडौं, (नेस)
नेपाल सुनचाँदी व्यवसायी महासंघको चांैथो स्थापना दिवस शुक्रबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको स्थापना दिवस कार्यक्रममा महासंघको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधिको बारेमा प्रकाश पारिएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष मोहक कुमार सुनारले सुनचाँदी व्यवसायी महासंघको स्थापनादेखि हालसम्मको अवधिमा भएका विभिन्न गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो।

सुनचाँदीको अभावमा कारण व्यवसायीले समस्या झेल्नु परेको भन्दै उक्त समस्या समाधानका लागि महासंघबाट निरन्तर पहल भइरहेको उहाँले बताउनुभयो। अध्यक्ष सुनारले सुनचाँदी व्यवसायमा परेका समस्या समाधान तथा शान्ति सुरक्षाको स्थितिमा सुधारका लागि महासंघ लागिपर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।

त्यसक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले पछिल्ला दिनमा व्यवसायीले धेरै किसिमका समस्या झेल्नु परेको उल्लेख गर्दै भोलिका दिनमा त्यस्ता समस्या दोहोरिन नदिन अहिलेदेखि नै सजग र सतर्क रहनुपर्ने खाँचो औंल्याउनुभयो। व्यवसायीलाई अनावश्यकरूपमा दुःख दिइने गरेको उल्लेख गर्दै उहँँले यस्ता क्रियाकलापको तत्काल अन्त्य हुनुपर्ने खाँचो औंल्याउनुभयो।

कार्यक्रममा महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले महासंघको विभिन्न गतिविधिमाथि प्रकाश पार्नुभएको थियो। स्थापना दिवसमा महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले व्यवसायीहरुबीचको एकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले २०४४ सालमा संघको रूपमा स्थापना भएको संस्था २०६९ मा महासंघमा परिणत भएको उल्लेख गर्दै महासंघलाई सशक्त र प्रभावकारी बनाउँदै अगाडि बढाउनुपर्ने खाँचो औंल्याउनुभयो।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी सम्बन्धी निर्देशिका निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै छिट्टै त्यसलाई निश्कर्षमा पुर्याउनुपर्ने खाँचो औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्