थाहामा प्रविधिमैत्री मालपोत सेवा



हेटौंडा,(नेस) । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहानगरमा मालपोत र नापी कार्यालयले सेवा शुरु गरेको छ । दुई कार्यालयको अनावरण गरी भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरेले उद्घाटन गरेका हुन् ।

महानिर्देशक घिमिरेले अनलाइन प्रविधिमा आधारित भएर मालपोत कार्यालय शिखरकोटले सेवा शुरु गरेको बताए । देशभर विस्तार हुँदै गरेको प्रविधिमैत्री सेवा शिखरकोट मालपोतमा पनि शुरु भएको उनले बताए । मकवानपुर थाहा नगरपालिका–८ मा कार्यालयहरुको उद्घाटन गरिएको हो ।

त्रिभुवन राजपथको दायाँबायाँ २५ मिटर क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका सवालमा घिमिरेले सडक विभाग वा मातहत कार्यालयबाट निर्देशन आएमात्र लगत कट्टा गर्ने बताए । उनले भने–हामी त्यस्तो नीति बनाउँदैनौं, निर्देशन आए कार्यान्वयन गर्छौं ।

कार्यालय उद्घाटन कार्यक्रममा विभागका सूचना प्रविधि निर्देशक रामदत्त भट्टले प्रविधिका माध्यमबाट अब केन्द्रबाट अनुगमन र निरीक्षण हुने भएकाले नागरिकले सहज सुविधा पाउनसक्ने बताए । सरकारले ल्याएको नयाँ प्रविधिले जग्गाधनीलाई कारोबार गर्न सहज हुने उनले उल्लेख गरे । उनले यस्तो अनलाइन प्रविधि चालु आर्थिक वर्षमा २६ कार्यालयमा शुरु गरिने र आगामी आर्थिक वर्ष थप ३० कार्यालयमा शुरु गरिने जानकारी दिए ।

नेकपा एमाले थाहानगर सचिव सुरेन्द्रमान प्रधान, जिल्ला सहकारी संघ मकवानपुर सञ्चालक तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष बिमलकुमार ढकाल, थाहानगर उद्योग वाणिज्य संघ अध्यक्ष कविराज खत्रीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम मालपोत कार्यालय शिखरकोट प्रमुख सूर्यप्रसाद कोइरालाको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्