मेची–महाकाली अभियानमा लागेका एमालेका एक नेतालाई मोर्चाका कार्यकर्ताले दल्यो कालो मोसो



शिवहरीप्रसाद भट्टराई, राजविराज ।
आगामी शनिवारदेखि सुरु हुने नेकपा एमालेको मेची–महाकाली अभियानको प्रचार प्रसारमा रहेका एमालेका एक नेतालाई शुक्रवार राजविराजमा मधेशी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

अभियानको बारे पर्चा वितरण गर्दै हिडेका पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलिएको हो ।

राजविराज १ हटियामा पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई घेरा हाली कालोमोसो दलेका थिए । उनलाई मालोमोसो दल्न शुरु गरेपछि जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भने भाग्न सफल भएका थिए ।

मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधीलाई निरन्तरता दिएपछि थप आक्रोशित भएर उक्त घटना भएको बताएका छन् । जनताले स्वत स्फुर्त रुपमा कालोमासो दलेको उनको दाबी छ ।

यता, एमाले अध्यक्ष गोविन्द न्यौपानेले भने मोटरसाईकलमा काम विशेषले वजार निस्किएका चौधरीलाई मोर्चाका कार्यकर्ताले गाडिमा कालो झण्डा राख्न र पार्टी छोडन धम्कि दिएपछि सोको प्रतिवाद गर्दा पछाडिवाट मोसो दलिएको भन्दै आपत्ती जनाएका छन् । उनले पार्टि सचिव शम्भु यादवको पैसा र पर्चा सामग्री सहितको झोला समेत मोर्चाका कार्यकर्ताले लिएर गएको वताउँदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।

यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा सामान्य झडप समेत भएको थियो । अभियानको पर्चा बितरण र घरदैलो गरिरहेको समयमा मोर्चा र एमाले कार्यकर्ताबीच सुरु भएको झडप प्रहरीले सामान्य वनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्