मोसुलबाट विस्थापित हुनेको संख्यामा वृद्धि



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघको मानवीय सहयोगसम्बन्धी निकायले उत्तरी इराकको दक्षिणी मोसुलमा भइरहेको द्वन्द्वका कारण विस्थापित हुनेहरुको संख्या बढिरहेको जनाएका छन्।

एक हप्तादेखि दैनिक चार हजारको दरले वरपरका इलाकाहरुबाट नागरिकहरु विस्थापित भइरहेको राष्ट्र संघका प्रवक्ताले जानकारी दिए। विस्थापितलाई शिविरमा राखेर मानवीय सहायता प्रदान गरिएको पत्रकार सम्मेलनमा उनले बताए। उनले मानवीय सहायताकर्मीहरु मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न सफल भएको बताए। इराकी प्रधानमन्त्री हैदर अल अवाडीले गत जनवरीमा इस्लामिक स्टेटका लडाकूविरुद्ध १ सय दिने लडाइँको घोषणा गरेका थिए।

३ सय ८५ जनाको मृत्यु
इराकका लागि संयुक्त राष्ट्र संघीय मिसनले गत फेब्रुअरी महिनाभित्र इराकमा ३ सय ८५ जना नागरिकको मृत्यु भएको जानकारी दिएको छ। मिसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार फेब्रुअरीमा ६ सय ९ जना घाइते भएका छन्।

लडाकूहरुको गतिविधि र हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। तथ्यांकमा मारिएका सुरक्षाकर्मीको संख्या भने जोडिएको छैन।

मिसनले यसअघि सार्वजनिक गरेको तथ्यांकमा मृत्यु भएका सुरक्षाकर्मीको संख्या पुष्टि भएको थिएन। फेबु्रअरीको उक्त तथ्यांकमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरुको संख्या पनि समावेश गरिएको मिसनले जनाएको छ। इराकका लागि राष्ट्र संघीय दूत तथा मिसनका प्रमुख जोन कुबिजले आमनागरिकलाई लक्षित गरी भएका हिंसात्मक घटनामा आईएसका लडाकू दोषी रहेको बताए।

जिहादीबाट आम नागरिकको हत्या नियन्त्रण गर्ने प्रयासका क्रममा सरकारी सेनाले आफ्नो व्यावसायिकताको सम्मान गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्