खेलाडीलाई खेलाडी संघको सम्मान



यही साता रसियन कल्चर सेन्टरमा विभिन्न खेलका २२ जना नेपाली खेलाडी सम्मानित भएका छन्। उनीहरूलाई गतवर्ष भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएको आधारमा यस वर्ष सम्मान गर्न छनोट गरिएका हुन्। त्यसो त सो सागमा धेरैले राम्रो प्रदर्शन गरेका थिए। तर, पनि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले त्यसमध्ये पनि उत्कृष्ट खेलाडीलाई छनोट गरी पुरस्कृत गरेको थियो।

भारतको गुवाहटी र सिलोङमा भएको सागमा नेपालको तर्फबाट स्वर्ण फुटबल, जुडो र उसुमा जितेको थियो। जसमा फुटबलमा स्ट्राइकर नवयुग श्रेष्ठ, जुडोमा फुपूल्हामु खत्री र उसुमा निमा घर्तीमगर सम्मानित भए। स्वर्ण जिते पनि उनीहरूलाई रजत र कांस्य जित्ने क्याटेगरीमा राखेर समानरूपमा खेलाडी संघले सम्मान गर्यो। यो पुरस्कार कार्यक्रमको सबैभन्दा सकारात्मक पक्ष हो। निमाले सो सागमा नेपालका लागि पहिलो स्वर्ण दिलाइन् भने फुपू जुडो खेलमा सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।

त्यस्तै सागमा रजत जित्नेहरू भारोत्तोलनका विकास थापा, पौडीकी गौरिका सिंह र तेक्वान्दोका वीरबहादुर महरा तीन खेलाडी सम्मानित भए। कांस्य जित्नेहरूको सूची भने लामो थियो। जसमा भलिबलकी सरस्वती चौधरी, हक्कीकी कुस्मा राना मगर, एथ्लेटिक्सका हरिकुमार रिमाल, ट्रायथलनकी रोजा केसी, बक्सिङकी सरस्वती रानामगर, खो–खोकी अर्पणाकुमारी महतो, टेबलटेनिसका दीप साउन, कुस्तीका सरोज यादव, आर्चरीका प्रेमप्रसाद पुन र ब्याडमिन्टनकी नङ्सलदेवी तामाङले कांस्य पदक नेपालका लागि दिलाएका थिए।

अन्य सहभागितामा स्क्वासका अरहान्तकेशर सिंह, सुटिङकी स्नेहाराज्यलक्ष्मी राणा, साइक्लिङका अजय पण्डित, कबड्डीकी शान्ति मल्ल, टेनिसका अभिषेक बास्तोला, ह्यान्डबलकी रञ्जना राई सम्मानित भएका थिए।

यी २२ जना खेलाडीलाई जनही १०⁄१० हजार बाँडेर सम्मानित गरिएको थियो। धेरैजसो खेलाडीले पैसाभन्दा पनि सम्मान हुने ठूलो कुरा भएको बताएका थिए। उनीहरूले आफू उत्कृष्ट भएको महसुस गराएको पनि बताएका थिए। यसमध्ये उसुकी निमालाई चर्चित गायक हेमन्त रानाले व्यक्तिगतरूपमा १० हजार नगद प्रदान गरे। रानाले आफू पनि उसुकै खेलाडी भएकाले निमाको योगदानलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताएका थिए।

रोकाया सम्मानित
तर, यस कार्यक्रमको सबैभन्दा आकर्षक पक्ष रह्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलाडी गजराज जोशीको स्मृतिमा रहेको गजराज जोशी आदर्श खेल व्यक्तित्व पुरस्कार। यो पुरस्कारबाट सम्मानित भए एथ्लेटिक्सका पूर्वधावक हरिबहादुर रोकाया। रोकायालाई पूर्वअर्थमन्त्री शंकर कोइरालाले सम्मानपत्र प्रदान गर्नुभएको थियो।

त्यस्तै फाउन्डेसनका अध्यक्ष मनिष जोशीले नगद २५ हजार पनि प्रदान गर्नुभयो। गजराजले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजित पहिलो एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए। उनको निधन सन् २०१० मा मार्च १ मा ८७ वर्षको उमेरमा भएको थियो। यसपछि उनको नामको यो पुरस्कार उनकै छोरा मनिषले स्थापना गरेका थिए।

रोकायाले सन् २००० मा एभरेस्ट म्याराथन उपाधि जित्दा नै गिनेज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गराएका हुन्। उनले सो उच्च उचाइमा दौडिने म्याराथनमा छिटो समयको रेकर्ड राखेका थिए। उनले ३ घन्टा ५० मिनेट २३ सेकन्डमा दौड तेस्रोपटक एभरेस्ट म्याराथनको उपाधि जितेका थिए। यसअघि उनले १९९७ (४ घन्टा १५ मिनेट ४२ सेकेन्ड) र १९९९ (३ घन्टा ५६ मिनेट १० सेकेन्ड) मा पहिलो स्थान हात पारेका थिए। त्यस्तै उनले १९८७ मा कोलकातामा सम्पन्न सागअन्तर्गत कांस्य पदक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्