ट्रम्पद्वारा कंग्रेसलाई सम्बोधन भारतीय नागरिक मारिएको घटनाको निन्दा



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधनमा कान्ससमा भएको भारतीय इन्जिनियरको हत्याको निन्दा गरेका छन्।

ट्रम्पले सम्बोधनमा यहुदीलाई निसाना बनाइरहेको घटनालाई लिएर पनि निन्दा गरेका छन्। ट्रम्पले अमेरिका घृणाको निन्दा गर्न एकजुट रहेको बताएका थिए।
भारतीय इन्जिनियर श्रीनिवास कुचिवोतला र उनका साथी आलो मदासानीमाथि अमेरिकाको कन्सास राज्यको एउटा बारमा एडम पुरिन्टन नामका एक अमेरिकीले गोली प्रहार गरेका थिए। आक्रमणकारीले गोली चलाउने क्रममा ुमेरो देशबाट बाहिर निस्क भनी चिच्याएका थिए।

ट्रम्पको उक्त सम्बोधनको एक दिनअगाडि मात्रै ह्वाइट हाउसले पनि भारतीयमाथि भएको हमलालाई नश्लभेदबाट प्रेरित रहेको बताएका थिए।
पहिलो पटक कंग्रेसलाई सम्बोन्धन गरिरहेका ट्रम्पले अमेरिकाको उत्साहलाई पुनः जीवित पार्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रपतिले भने– ुआशाको नयाँ प्रेरणा आइसकेको छ। हाम्रो असम्भव सपना पूरा हुने लक्षण देखिरहेको छ। हामी अमेरिकी महानताको नयाँ अध्याय थाल्न गइरहेका छौं।

ट्रम्पले अमेरिकामा यहुदी चिहानस्थलमा भएको तोडफोडको पनि निन्दा गरे। ुनीतिगतस्तरमा हाम्रो विचार फरक फरक हुन सक्छ तर घृणाको निन्दा गर्न सम्पूर्ण अमेरिका एकजुट छ। –उनले भने।

उनले ट्रान्स प्यासिफिक पार्टनरसिप ट्रेड सम्झौता अन्त्य गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे। उनले मेक्सिको–अमेरिका सीमामा पर्खाल बनाउनका लागि काम भइरहेको पनि बताए।

नयाँ आप्रवासी कानुन लागु हुने र तलब वृद्धि गर्ने, बेरोजगारी समाप्त पार्ने, अर्बौं डलर बचत गर्ने र आफ्ना नागरिकलाई पर्याप्त सुरक्षित बनाउने ट्रम्पले प्रतिबद्धता व्यक्त गरे। आफूले सबै अमेरिकीको सफलता चाहेको तर विद्यमान अराजकतामा सम्भव नभएको पनि बताए।

राष्ट्रपतिले ुअतिवाद इस्लामिक आतंकवादको आलोचना गर्दै इस्लामिक स्टेटलाई समाप्त पार्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले सांसदहरूसँग गरिब बच्चालाई पढाउनका लािग विद्यालयलाई सहयोग गर्न अपिल गरे। यसबाट ल्याटिन अमेरिकी तथा अफ्रिकी अमेरिकी बच्चाहरूलाई फाइदा हुने बताए।
प्रतिबन्धित मुलुकको सूचीबाट
इराक हट्ने
केही मुस्लिम बाहुल्य मुलुकका नागरिकलाई अमेरिका प्रवेशमाथिको निषेध गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अदालतले रोक लगाएपछि त्यसमा केही मारिमार्जन गरी नयाँ आदेश ल्याउने तयारीमा रहेको अधिकारीहरूले जानकारी दिएका छन्। ट्रम्पले पद सम्हालेको लगत्तै सातवटा मुस्लिम बाहुल्य मुलुकका नागरिकहरूलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने कार्यकारी आदेश जारी गरेका थिए।

नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकहरूको सूचीबाट इराकलाई हटाइने संकेत दिइएको छ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन उक्त परिमार्जनसहितको कार्यकारी आदेश जारी गर्ने निर्णयमा पुगेको अमेरिकी उच्च अधिकारीहरूले जनाएका छन्। आफ्नो नाम नबताउने सर्तमा उक्त जानकारी दिएका ती उच्च अधिकारीहरूले उक्त कार्यकारी आदेशमा राष्ट्रपतिको हस्ताक्षर भइनसकेकाले यस विषयमा विस्तृत जानकारी दिन नमिल्ने बताएका थिए।

कट्टरपन्थी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूहविरुद्ध लड्न मुख्य भूमिका निर्वाह गर्दै आइरहेको इराक सरकारले अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेको छ। ती दुवै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्व निर्णयमा पुनर्विचार गर्न निरन्तर दबाबमूलक आग्रह गरिरहेका थिए।

नयाँ कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले बिहीबारसम्ममा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। राष्ट्रपतिको हस्ताक्षरपछि उक्त नयाँ आदेशले अमेरिकी संघीय अदालतमा मुद्दा परेपछि रोकिन पुगेको पुरानो आदेशलाई प्रतिस्थापन गर्नेछ।
अमेरिका प्रवेशमा रोक लगाइएको निषेधित सूचीमा मुस्लिम बाहुल्य अन्य ६ वटा मुलुक इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमनमाथि भने प्रतिबन्ध कायमै रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्