ऊर्जाका लागि स्वेशमै लगानीको वातावरण बनाउन सकिने



काठमाडौं, (नेस)
उर्जामन्त्री जनार्दन शर्माले उर्जा क्षेत्रको विकासका लागि स्वदेशमै लगानीको वातावरण बनाउन सकिने बताउनुभएको छ।

जलसोत तथा उर्जा पत्रकार समाज (वारेज) नेपालले आयोजना गरेको ुराष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकाश दशक तथा नेपालको पानी जनताको लगानी विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो।

उहाँले जनताको लगानीमै ठुला जलविद्युत आयोजना निर्माण को काम कर्णालीबाट थाल्ने बताउनुभयो। हरेक घरले १ लाखमात्र लगानी गर्दा ६ खर्व रुपियाँ लगानी जुट्छ, यस्तो कामको सुरुवात म कर्णाली अञ्चलका सम्भावित जलविद्युत आयोजनाहरूमा स्थानीय जनताबाटै लगानी उठाएर निर्माण गर्ने उद्घोष गर्दछु– शर्माले कार्यक्रममा भन्नुभयो।

नेपालको पानी जनताको लगानी भन्ने नारालाई कर्णाली क्षेत्रका बासिन्दाहरूबाट सुरु गरेर निर्माण क्षेत्रमा मैलाएको गुण्डागर्दीलाई पनि निरुत्साहन गर्ने उहाँले बताउनुभयो। देशको समग्र विकासमा विद्युत क्षेत्रको महत्वपूर्ण भूमिका रहने वहुआयामिक क्षेत्र भएकोले लगानीकर्ताहरूलाई विद्युत् खपतको विषयलाई समस्याका रूपमा नलिन मन्त्री शर्माले आग्रह गर्नुभयो। उत्पादित विद्युत खपत गर्ने भन्दा पनि कम उत्पादन हालको समस्या रहेको मन्त्री शर्माले बताउनुभयो।

सोही अन्तरक्रिया कार्यक्रममा वारेजका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्टले हालको उर्जासंकट निवारणका लागि वारेजले देशको उर्जा क्षेत्रको नीतिगत कानुनी, प्रशासनिक र संरचनागत सुधारका लागि मन्त्रालयलाई ९९ सय बुँदामा सुझाव प्रतिवेदन बुझाएको र मन्त्रालयले पनि यसलाई गम्भीरताका साथ लिएको बताउनुभयो।

उर्जा मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले उपस्थित पत्रकार तथा लगानीकर्ताहरूलाई जलविद्युत विकासको हालको अवस्था तथा कार्ययोजनाका बारेमा जानकारी गराउनुभयो। गतवर्ष १४ सय मेगावाट सम्म पुगेको विद्युत् माग यस वर्ष १२ सय ५० मेगावाट माग रहेको बताउनुभयो।

हाल दैनिक १ करोड ८५ लाख युनिट विद्युत् माग रहेकोमा २४ लाख युनिट विद्युत अझै अपुग रहेको बताउनुभयो। हाल भारतबाट ३ सय ९० मेगावाट विद्युत आयात भईरहेको छ। दश वर्षमा दशहजार मेगावाट उत्पादन गर्ने लक्षका साथ राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकको पहिलो वर्षमा नै लक्ष्य अनुरूप काम भएको छ। चालू आर्थिक वर्षमा २ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्ने लक्ष लिइएकोमा सात महिनाको अवधिसम्म १ सय २७ मेगावाट थपिएको र आर्थिक वर्षको अन्त्य सम्ममा लक्ष्य अनुरूपको विद्युत प्रसारण लाईनमा जोडिने बताउनुभयो।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द« गुरागाँईले अबको केही वर्षभित्रै मागभन्दा बढी विद्युत नेपालमा उत्पादन हुने भएकाले उपभोगको क्षेत्रलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्ताहरूको सहयोगले विद्युत संकट हटाउन प्राधिकरण सफल भएको बताउनुभयो। विद्युत चोरी र चुहावट न्युनीकरण गरी प्राधिकरणको २७ प्रतिशत घाटा दरलाई घटाएर २३ प्रतिशतमा झारेको र १ अर्व २२ करोड रुपियाँ बराबरको राजश्व बढाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्