लगानी सम्मेलन आज



नेपाल समाचारपत्र
काठमाडौं
लगानी सम्मेलनको अघिल्लो दिन सरकारले करिव ३० अर्ब रूपैयाँ बराबरको स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन स्वीकृति प्रदान गरेको छ। बुधवार उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बैठकले विभिन्न कम्पनीका पूँजी बृद्धिको प्रस्तावलाई स्वीकृत गरेको हो।

उद्योगमन्त्री नवीन्द्रराज जोशी अध्यक्ष रहेको बोर्डले सोल्टी होटेल, अर्घाखाँची सिमेन्ट, लाङटाङ भोटेकोशी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सिनो हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावर कम्पनीको पूँजी बृद्धि प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो।

यो निर्णयले बिहीबारदेखि सुरु हुने लगानी सम्मेलनलाई थप बल तथा हौसला पुग्ने र नेपालमा अझै वैदेशिक लगानी भित्र्याउन सहज हुने मन्त्री जोशीले बताउनुभयो। बोर्डले सोल्टी होटेललाई एक अर्ब ६४ करोड रूपैयाँ पूँजी थप गर्न स्वीकृत दिएको छ। यसअघि सोल्टीको चुक्ता कूल एक अर्ब २६ करोड ७० लाख रूपैयाँ थियो भने अब होटलको पूँजी बढेर दुई अर्ब ९० करोड रूपैयाँ पुगेको छ। सोल्टीले नेपालमा नै कमाएको पैसावाट पूँजी थप गर्नका लागि प्रस्ताव पेश गरेको र त्यसलाई बोर्डले स्वीकृत गरेको उद्योग मन्त्री जोशीले बताउनुभयो।

त्यस्तै बोर्डले अर्घाखाँची सिमेन्टका दुईवटा कम्पनीलाई मर्ज हुन स्वीकृती दिएको छ। यसअघि अर्घाखाँची सिमेन्टका दुईवटा कम्पनीबाट उत्पादन हुँदै आएको थियो भने अब एकीकृत रूपमा कारोवार हुनेछ।अर्घाखाँची सिमेन्टको एउटा कम्पनी एक अर्ब १० करोड पूँजीको थियो भने अर्को एक अर्ब ९० करोडको थियो। मर्जर भएपश्चात एकिकृत कम्पनीको पूँजी तीन अर्ब रूपैयाँ पुगेको छ।

त्यस्तै बोर्डले सर्वोत्तम सिमेन्ट कम्पनीको पूँजी वृद्धि प्रस्तावलाई पनि स्वीकृत गरेको छ। पहिले ६ अर्ब पूँजी रहेको कम्पनीले तीन अर्ब ९७ करोड ६० लाख रूपैयाँ थप गरी ९ अर्ब ९७ करोड ६० लाख रूपैयाँ पूँजी पुर्याएको छ। त्यस्तै रसुवा जिल्लामा रहेको लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीको पूँजी बृद्धि पनि स्वीकृत भएको छ। कम्पनीले प्रस्ताव गरेको १७ अर्ब ४८ करोड ९८ लाख रूपैयाँ पूँजी बृद्धिका लागि बोर्डको बैठकले स्वीकृत गरेको हो।

यसअघि लाङटाङ भोटेकोशीको पूँजी दुई अर्ब ३० करोड रूपैयाँ रहेको थियो। अब २० अर्ब ३८ करोड रूपैयाँ बराबरको कम्पनी भएको छ। त्यस्तै थप पूँजी बृद्धि स्विकृत थप भएसँगै कम्पनीले आफ्नो क्षमता पनि वृद्धि गर्न राखेको प्रस्ताव पनि बोर्डले स्वीकृत गरेको छ। कम्पनीले थप २२ दशमलव ५ मेगावाटका विद्युत थप गर्नका लागि प्रस्ताव पेश गरेको थियो। सुरुमा ९७ दशमलब पाँच मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले पूँजी बृद्धि भएसँगै कुल एकसय २० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ।

बोर्डले सिनो हाइड्रो सगरमाथा प्रालिलाई पनि पूँजी बृद्धि गर्न स्वीकृत दिएको छ। चिनियाँ कम्पनी सिनो हाइड्रो सर्भिसेसको ९० प्रतिशत लगानी र स्वदेशी सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको कम्पनीले लमजुङ जिल्लामा निर्माणाधिन ५० मेगावाटको मस्र्याङ्दी ए जलविद्युत आयोजनाको पूँजी थप गरेको हो। १६ अर्ब १४ करोड ९८ लाख कुल पूँजी भएको कम्पनीले तीन अर्ब ४० करोड ३ लाख पूँजी बृद्धि गर्न माग गरेको थियो। अब कम्पनीको कुल पूँजी १९ अर्ब ५५ करोड दुईलाख रूपैयाँ भएको छ। बोर्डले रामेछाप र ओखलढुङा जिल्लाको सिमानामा पर्ने लिखुखोलामा निर्माण हुने तल्लो लिखुखोला २८ दशमलव एक मेगावाटको श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनीमा विदेशी लगानी गर्न स्विकृती दिएको छ।

प्रतिक्रिया दिनुहोस्