धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक अभाव



ज्ञानमणि नेपाल कालोटोपी, महोत्तरी
धुर्मुस–सुन्तली फाउन्डेसन र कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली को पहलमा महोत्तरीको बर्दिवासमा निर्माणाधीन मुसहरबस्तीका लागि आर्थिक अभाव भएको छ।

यसअघि काभ्रेको पहरीगाउँमा २१ वटा र सिन्धुपाल्चोकको गिरानचौरमा ६५ वटा घर वनाएर २ वटा एकीकृत बस्ती निर्माण गरिसकेको यो समूहले अहिले निर्माण गरिरहेको तेस्रो एकीकृत बस्तीका लागि आर्थिक अभाव भएको हो। यहाँ ५० वटा घर र एक सामुदायिक भवनसमेत निर्माणका लागि ४ करोड ७८ लाखको अनुमानित लागत भए पनि अहिले २ करोड रुपियाँ नपुग भएको परियोजना संयोजक अर्जुन न्यौपानेले जानकारी दिनुभएको छ।

आर्थिक स्रोत व्यवस्थापनका लागि कलाकार धुर्मुस जोडी यतिबेला देश–विदेशसम्म पुगिरहेका छन्। विभिन्न संस्थाको पहलमा केही सहयोग पनि आइरहेको छ। अप्ठ्यारो र अभाव भए पनि आगामी वैशाखसम्ममा बस्ती निर्माण सकेर समुदायलाई हस्तान्तरण गरिने लक्ष्य रहेको संयोजक न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार हाल ६० प्रतिशत काम सकिएको छ। एकीकृत बस्ती निर्माणसँगै स्थानीयबासी पनि खुसी रहेको र उनीहरूले पनि सक्दो सहयोग गरिरहेका बताइएको छ।

‘आर्थिक समस्या भए पनि हामीहरू निराश भएका छैनौं। जसरी पनि हाम्रो लक्ष्य पूरा गर्छौं –संयोजक न्यौपानेले दृढता व्यक्त गर्नुभयो। उहाँले अहिलेसम्म निर्माण भइसकेका २ वटा एकीकृत बस्ती र अब निर्माणाधीन मुसहर बस्तीका लागि इन्जिनियरिङको काम पनि गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्