६ हजार क्विन्टल चामल गोदाममै कुहियो



हेमन्त जोशी, काठमाडौं

जापान सरकारले नेपाललाई अनुदानमार्फत् दिएको ६ हजार क्विन्टल चामल गोदामै कुहिएको छ। तीन वर्ष अगाडि जापान सरकारले नेपाललाई दिएको खाद्यान्न सहयोगका रूपमा दिएको उक्त परिमाण चामल देशका विभिन्न गोदाममा कुहिएकै अवस्थामा थन्किएको नेपाल खाद्य संस्थानका प्रमुख गोकुलप्रसाद धितालले जानकारी दिनुभयो।

अञ्चल कार्यालय नेपालगन्जमा ३ सय ४२ मेट्रिक टन अञ्चल कार्यालय काठमाडौंमा ५८ मेट्रिक टन, शाखा कार्यालय वीरगन्जमा १ सय ५१ दशमलब ५ मेट्रिक टन र शाखा कार्यालय सुर्खेतमा ७३ दशमलब ६३ मेट्रिक टन गरी कुल ६ सय २५ मेट्रिक टन चामल गोदाम मै कुहिएको हो।

तीन वर्ष अगाडि आयातका क्रममा चामलका बोरा भिजेको, डल्ला परेको अवस्थामा नै नेपाल भित्रिएको थियो। नेपालले जापान सरकारलाई अनुदानमार्फत्को चामल बिग्रिएको जानकारी दिएपछि सोही परिमाण बराबर थप चामल उपलब्ध गराए पनि बिग्रिएको चामल भने हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन। उक्त बिग्रिएको चामल व्यवस्थापनका लागि खाद्य सस्थानले कमिटी गठन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा गुणस्तर परीक्षण गरी प्रतिवेदन समेत पेश गरेको थियो। उक्त अध्ययन प्रतिवेदन अनुसार मानवीय प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने पाइएको थियो।

चामलको गुणस्तर पुनः जाँचपछि मात्रै पशुपन्छीको दानाको रूपमा प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने निक्योल गरिने धितालले बताउनुभयो। तीन वर्षसम्म पनि किन व्यवस्थापन भएन भन्ने प्रश्नमा धितालले ‘समयमै व्यवस्थापन हुन पथ्र्यो, यतिका वर्षसम्म थन्काएर राख्न हुँदैनथ्यो। त्यो बेलाको व्यवस्थापनले चासो नदिँदा यो समस्या दखिएको हो, अबको दुई महिनाभित्रमा लिलाम प्रक्रियामार्फत् व्यवस्थापन गरिसक्ने छौं भन्नुभयो। आफूले उक्त चामल व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेको र अबको दुई महिनाभित्रै लिलाम बिक्री गरिसक्ने धितालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्