स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय स्तरको तालिम ५ एम्बुलेन्स हस्तान्तरण



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एम्बुलेन्स सर्भिस (नास)ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरूका लागि दीक्षान्त समारोह आयोजना गरेको छ।

तालिमको दोस्रो सत्रमा स्ट्यान्डफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिन अमेरिकाद्वारा सञ्चालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचका ४७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सोही कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ।

नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरू आईएमसीले मन्त्री थापालाई हस्तान्तरण गरेको थियो। नासले यसअघि काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीसहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ। संस्थाले अब पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ।

सो अवसरमा मन्त्री थापाले भन्नुभयो– ‘नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हातेमालो गरेर स्तरीय सेवा मुलुकभर सञ्चालन गर्न अघि सर्नेछ। यो पब्लिक प्राइभेट पार्टनरसीपको उत्कृष्ट नमुना बन्नेछ।

एम्बुलेन्स हस्तान्तरणपछि, नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले भन्नुभयो– ‘हामीलाई गर्व लाग्छ अहिलेसम्म २० हजार ७७ बिरामीहरूलाई सेवा प्रदान गर्न सफल भएका छौँ। जसमध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्सभित्रै भएको थियो। साथै विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरीसँगको संयोजकत्वमा हामीले ७ सयभन्दा बढी घाइतेहरूलाई उद्धार गर्न सफल भएका थियौं।

इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशीय निर्देशक जोलेने माएमुलिन्सले भन्नु भयो– नेपाल एम्बुलेन्स सर्भिससँग सहकार्य गर्न पाएकोमा खुसीछौं। कार्यक्रममा बोल्दै तालिमका संयोजक डा. कुलेश थापाले ‘स्ट्यान्डफोर्डको सहयोगमा स्वास्थ्यसम्बन्धी आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई यस्तो प्राविधिक तालिम कार्यक्रम नेपालमै पहिलो भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्