भक्तपुरमा गहुँ खेतीप्रति आर्कषण घट्दै



विपना मुसिख्वाल, भक्तपुर ।
भक्तपुरमा गहुँ खेतीप्रति कृषकको आर्कषण घट्दै गएको छ । खेतीबाट लगानी समेत उठ्न छाडेपछि किसानको यसतर्फ आर्कषण घटेको हो ।

गहुँ खेतीबाट आम्दानी नभएपछि कृषकहरु नगदे तथा तरकारी खेती गर्न थालेको जिल्ला कृषि कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका कृषि प्राविधिक पर्शुराम गिरीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो ,‘गत वर्षको तुलनामा यस वर्ष यहाँको तीन हेक्टर खेतमा गहँु खेती घटेको छ । अधिकांश नगरक्षेत्र, सुडाल, ताथली, छालिङ लगायतका ईटा भटा सञ्चालन भएका क्षेत्रमा गहँु खेती घटेको छ ।’

यस वर्ष कार्यालयमा ल्याएका डब्लु के १२०४ र पासाङ ल्हामु बीउ मध्ये डब्लु के १२०४ पन्ध्र सय किलो मात्र वितरण भएको छ ।

ब्यासीका कृषक सिताराम सुवालले गहुँ खेतीबाट आम्दानी नहुने हुँदा तरकारी खेती गर्न थालेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘गहँुबाट खासै आम्दानी हँुदैन । यसबाट परिवारको खर्च त के कामको ज्याला र लगानी समेत उठ्दैन । बरु तरकारी खेतीबाट वार्षिक रुपमा लाखौँ आम्दानी हुन्छ । ’

‘हिउँदमा गहुँ खेतीको लागी सिचाईँ नै हुँदैन । अनि उत्पानमा कमी आउछ।’ उहाँ भन्नुहुन्छ, सिपाडोलका कृषक सर्मिला त्याट । उहाले विगत चार वर्ष यता गहु खेती छोडेर व्यवसायिक तरकारी खेती गर्न थालेको र यसबाट बार्षिक रुपमा तीन लाख रुपियाँ आम्दानी हुने बताउनु भयो ।

ताथलीकी कृषक सरस्वती बनमाला भन्नुहुन्छ, ‘मैले मेरो पन्ध्र रोपनी खेत मध्ये दुई रोपनीमा मात्र गहँु खेती गरेको छु । बाँकी १० रोपनीमा नगदे बाली, तरकारी खेती, आलु खेती गरी बाँकी खेतमा इटाभटालाई ईटा बनाउन दिएको छु ।’ उहाँ थप्नुहुन्छ,‘गहुँबाट ज्याला पनि उठ्दैन ।

अझ त्यसमा गरेको लगानी त कहाँ हो कहाँ ?त्यही भएर गहु खेती नै गर्न छोडेको हो ।
गहुँ खेतीबाट सोचे अनुरुप फाईदा नभए पछि निरास हुदै जितपुरका कृषक शिवराम तसिजु भन्नुहुन्छ,‘गहँु खेती दःुख मात्र हो । लगानी उठ्ने होइन । त्यसैले केही खेतमा मात्र गहुँ खेती गरी बाकी दुइ रोपनी खेत भटालाई ईटा बनाउन दिएको छु । कमसेकम भटाबाट एक रोपनीको १७ हजार रुपैया त आउछ ।’

प्रतिक्रिया दिनुहोस्