राजविराजमा सशस्त्र संगठनको सकेट बम



शिवहरि प्रसाद भट्टराई
राजविराज, १७ फागुन । बन्दको अवज्ञा गरेको भन्दै राजविराज–९ स्थित एक विद्यालयलाई लक्षित गर्दै सोमवार राती एक सशस्त्र सङ्गठनले सकेट बम राखेको छ ।

पिस जोन ईङ्गलिस बोर्डिङ्ग स्कूल अगाडि जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले बम राखेको हो । घटनाबारे जिम्मेवारी लिँदै मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत गुलामीका २०० औं वर्षका दिन लाई ‘कालो दिन’ घोषणा गर्दै गत मंसिर २३ गते आह्वान गरिएको तराई बन्दको आह्वानलाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै आफूहरुले कार्वाही स्वरुप विद्यालयको प्रवेशद्वारमा बम राखिएको जनाएका छन् । बम फेला परेको ठाउँमा मोर्चाको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।

मङ्गलवार विहान बम राखेको हल्ला फैलिएपछि विद्यालय बन्द गरी सुरक्षाकर्मीले उक्त क्षेत्रमा घेरा हालेर बमलाई निष्क्रिय पार्ने प्रयास गरिरहेका छन् । यता त्यसक्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् । तीन महिनायता मोर्चाले राजविराजको जिल्ला प्रशासन कार्यालय, फुसराज दुगड र लक्ष्मी श्रेष्ठको घरलाई लक्षित गरी बम राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्