खाडीभन्दा बाहिर वैदेशिक रोजगारीको खोजी बढ्दै



रोविन पौडेल, काठमाडौं

वैदेशिक रोजगारीको गन्तव्य मलेसिया, कतारलगायतका खाडीमुलुक मात्रै हुन भन्ने मनस्थिति बनिरहेको बेला पछिल्लो अवस्थामा युरोप र अन्य एसियाली देश पनि क्रमशः आकर्षणको केन्द्र बन्दै गएको छ। वैदेशिक रोजगार विभागका अनुसार खाडीमुलुक जानेको संख्या कुल वैदेशिक रोजगारमा जानेको ९५ प्रतिशत रहेको छ। बाँकी ५ प्रतिशत कामदार युरोप, अमेरिका तथा अन्य एसियाली देशमा जाने गरेका छन्। यो तथ्यांक आर्थिक वर्ष २०७१⁄७२ मा ३ प्रतिशत रहेको थियो।

पछिल्लो समयमा कामदारहरू दक्षिण कोरिया, जापान, मकाउ लगायतका एसियाली देश, फिनल्यान्ड, पोल्यान्ड, पोर्चुगललगायतका युरोपेली देश तथा अल्जेरिया, कंगोलगायतका अफ्रिकी मुलुकप्रति आकर्षित हुने गरेका छन्। सुविधा र आकर्षक पारिश्रमिकका कारण वैदेशिक रोजगारीमा पोल्यान्ड र पार्चुगललगायतका देश जाने कामदारको संख्या बढेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै ढकालले भन्नुभयो–‘खाडी मुलुकका तुलनामा ती देशमा कम काम गर्नुपर्ने र कमाई पनि बढी हुने भएका कारण कामदारहरू त्यहाँ जान लोभिएका हुन्।’ साथै केही वर्ष बसेपछि स्थायी बसोबासको प्रमाणपत्र (पीआर) पाइने भएकाले विशेषगरी युवापुस्ता आकर्षित हुने गरेको उहाँको भनाइ थियो।

फलफूल टिप्ने, ससेज प्याकिङ गर्नेलगायतका हल्का काम गर्नुपर्ने भएपछि शहरतिरका युवाको बढी आकर्षण हुने उहाँले जानकारी दिनुभयो। ती देशबाट कामदारको माग उच्च रहेको र सरकारले उपयुक्त सम्झौता गरी कामदार पठाउन सके नेपालीका लागि रोजगारको गन्तव्य खाडी मुलुकमात्र नहुने उहाँको भनाइ छ। तर, वैदेशिक रोजगार विभागकी निर्देशक एवम् सूचना अधिकारी रमा भट्टराईले युरोपेली तथा अन्य देशमा पनि खासै राम्रो पारिश्रमिक नभएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘राम्रो पारिश्रमिकका नभए पनि भौतिक सुविधा राम्रो हुने भएकाले कामदारहरू विकसित मुलुकतर्फ आकर्षित हुने गरेका हुन्। ती देशमा प्रायः दक्ष जनशक्ति जाने गरेका छन्। तैपनि उनीहरूको मासिक कमाई खाडीमा काम गर्ने कम दक्ष श्रमिकहरूको जत्तिकैं हुन्छ।’ उहाँका अनुसार मलेसिया, कतारमा पनि श्रमिकले मासिक ५० देखि ६५ हजार रुपियाँसम्म कमाउने गरेका छन्। युरोप र अन्य देशमा दक्ष जनशक्तिको माग उच्च रहेको उहाँको भनाइ थियो।

पछिल्लो अवधिमा साउदी अरब जानेको संख्या घटेको र कतार जानेको सं्ख्या भने बढेको तथ्यां्कले देखाउँछ। यसको कारण साउदी अरबको आन्तरिक अवस्था रहेको विभागकी निर्देशक भट्टराईको भनाइ छ। मलेसिया जानेको संख्यामा भने कमी भएर अहिले फेरि बढेको छ। ‘फ्रि भिसा फ्रि टिकट’ नीतिका कारण मलेसिया रुष्ट भएकाले विगतका दिनमा मलेसियाबाट कामदारको माग कम भए पनि अहिले त्यो समस्या पूर्णरुपमा समाधान भइसकेको उहाँको दाबी छ।

गत आर्थिक वर्षमा खाडीबाहेक अन्य एसियाली देशमा जाने कामदारको संख्या उल्लेख्य छ। त्यस अवधिमा इपिएसमार्फत् दक्षि कोरिया जाने कामदारको संख्या ७ हजार ३ सय ५२ छ। त्यस्तै वैदेशिक रोजगारीको क्रममा जिट्कोमार्फत् जापान जानेको संख्या ३ हजार ८ सय ४४ छ। त्यस्तै १४ सय १९ जना अफगानिस्तान, ५ सय ८८ जना मकाउ, ७ सय २२ जना माल्दिभ्स र ३ सय ६१ जना हङकङ गएका थिए।

चालू आर्थिक वर्षको छ महिनामा ९ सय २३ जना दक्षिण कोरिया, ५ सय ५३ जना अफगानिस्तान, जापान १ हजार १ सय २१ जना, मकाउ ४ सय ८६ जना र ४ सय २३ जना माल्दिभ्स गइसकेका छन्। त्यस्तै यूरोप तथा अन्य महादेशमा गत आर्थिक वर्ष सबैभन्दा धेरै साईप्रस १ हजार ५ सय १३ जना, इजिप्ट १ सय ९० जना, पोर्चुगल १ सय ५२ जना, १ सय ५१ जना पोल्यान्ड, अल्जेरिया ७४ र फिनल्यान्ड ४९ जना गएका थिए। चालू आर्थिक वर्षमा भने ६ सय १६ जना साईप्रस र अन्य देशमा ५ सयको हाराहारीमा कामदार वैदेशिक रोजगारीमा गएका छन्।

चालू आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार जाने देशमा कतार पहिलो नम्बरमा रहेको छ। विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल १ लाख ८९ हजार ४ सय ३३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये सबैभन्दा धेरै ६२ हजार ६ सय ११ जना कतार गएका छन्। त्यसपछि मलेसिया र साउदी अरब जानेको संख्या धेरै रहेको विभागले जनाएको छ। नेपाल सरकारले हाल १ सय १० देशमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ। सुरक्षाको कारण देखाउँदै सरकारले अफगानिस्तानको रेड जोन, लिविया, सिरिया र इराकमा भने कामदार जान रोक लगाएको छ।

यसैबीच चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा ३ खर्ब ४२ अर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ७ प्रतिशतले बढी हो। त्यस अवधिमा कुल ३ खर्ब २३ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको थियो। उक्त समयमा रेमिट्यास वृद्धिदर भने १७ दशमलव ३ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्