विद्यालयमा ४० वर्ष सेवा गरेका व्यक्ति वृद्धाश्रमको सहारामा



नेपाल समाचारपत्र
लमजुङ
झट्ट सुन्दा पत्यार नलाग्ने एक घट्ना लमजुङमा भएको छ। आफ्नो जवानी उमेरमा राज्यसँग लडेर छ विद्यालयको संस्थापक बन्नुका साथै १५ वटा विद्यालयमा शिक्षक बनेर ४० वर्ष सेवा गरेका व्यक्ति आज ७६ वर्षको उमेरमा वृद्धाश्रमको सहारामा आफ्ना दिनहरू गन्दै हुनुहुन्छ।

त्यस्तो व्यक्ति लमजुङको उत्तरी क्षेत्रस्थित बाहुनडाँडा गाविस– ८ लामपाटा निवासी टीकाराम घिमिरे हुनुहुन्छ। उहाँ यतिबेला लमजुङको रागिनास नगरपालिका–२ हर्राबोटमा सञ्चालित सर्वोदय सेवाश्रममा विगते तीन वर्षदेखि आश्रित हुनुहुन्छ।

उहाँलाई भेट्न जाने जिल्लाका गन्यमान्य व्यक्तिसँग आफूलाई राज्यले ठगेको भन्दै खासै कुराकानी गर्न नरुचाउने र कुरा गरे पनि आक्रोश मात्र पोख्ने गर्नुहुन्छ। उहाँले चिनेका जिल्लाका एक– दुईजना पुराना पत्रकारहरू यसअघि उक्त आश्रममा जाँदा आफू लुकेर बसेको बताउनुहुने उहाँले ती पत्रकार फर्केपछि त्यो बेलामा नभेटेर पछुतो लाग्यो भन्दै यसपटक भने यो प्रतिनिधिसँग दिल खोलेर कुरा गर्नुभयो।

यतिबेला उहाँले कान राम्रोसँग सुन्नुहुन्न। कापीका पानाहरूमा प्रश्न लेखेर दिएपछि उत्तर दिने गर्नुहुन्छ घिमिरे। कान नसुन्ने भएकै कारणले उहाँले शिक्षण पेशाबाट विमुख हुनुपरेको बताउनुभयो। १९९७ सालको मंसिर १० गते जन्म मिति बताउनु हुने उहाँले त्यो बेलामा कक्षा १० मात्र पढेर शिक्षण पेशामा लागेको बताउनुभयो। तर त्यसबेला दिइएको नर्मल तालिमसहितका तालिममा उहाँले भाग नलिएका कारणले नोकरी स्थायी भएको रहेछ।

उहाँको नागरिकता प्रमाणपत्रमा भने हालको उमेर ६३ वर्षमात्र देखिन्छ सो आश्रमका अध्यक्ष कृष्णराज ओलियाले भन्नुभयो। यसैले उहाँले राज्यद्वारा प्र्रदान गरिने जेष्ठ नागरिक भत्तासमेत पाउन सक्नुभएको छैन। ओलियाले बताउनुभयो। उहाँका अनुसार उहाँको स्वभाव केही लहडीजस्तो पनि रहेछ, विवाह गरेकी श्रीमतीले पाँच वर्षसम्म जायजन्म नभएपछि दोस्रो विवाह गरी हिँडेछन्। उहाँले अर्को घरबार गर्नेतर्फ पनि लाग्नुभएनछ। उहाँको पैतृक थलोमा केही पाखोबारी त भएको तर त्यसमा खेतीपाती गर्नेतर्फ पनि उहाँ लाग्नुभएन, भाइभतिजाले त्यो भोग गरेको सुनिन्छ। उहाँले कान नसुन्ने भएकै कारण स्कूलहरूले निजी स्रोतबाट हटाएछन्।

बुढा गाउँमा पूजाआजा गरिदिने र एउटाको पालीमा बस्ने गर्नुभएको रहेछ। खुदी–९ स्थित उहाँले स्थापना गरेको लताकुञ्ज निमाविका तत्कालीन विद्यार्थी र वर्तमान प्रअ उमरबहादुर गुरुङलाई अब म तेरो घरमा आएर बस्छु भन्ने गर्न थालेपछि उहाँको सम्पर्कबाट टीकाराम बृद्धाश्रममा पुग्नुभएको ओलियाले बताउनुभयो।

घिमिरेले स्थापना गरेका विद्यालय २ वटा निमावि र ४ वटा प्रावि आज पनि सञ्चालनमा छन्। उहाँले पहिलो पल्ट स्थापना गरेको विद्यालय ताघ्रिङ गाविस–१ को विकट गाउँ च्याम्चेस्थित जनजागृति प्रावि हो। च्याम्चेको मनाङसँग सीमा जोडिएको छ।

त्यसै गरी, ताघ्रिङ–९ को अत्यन्तै विकट मानिने गाउँ कालाघिरिङमा गएर उहाँले स्कूलको नामसमेत जुराएर वडादेवी प्राविको स्थापना गरेको अहिले पनि उहाँलाई सम्झना रहेछ। त्यस्तै, खुदी गाविस– ४ रावा स्थित मंगलोदय प्रावि, सोही गाविसको अर्खलेस्थित जनचेतना प्रावि, भूलभूले– ९ को लालीगुराँस प्राविको उहाँ संस्थापक शिक्षक हुनुहुँदोरहेछ। त्यसबाहेक उहाँले झण्डै दर्जन विद्यालयमा शिक्षण गर्नुभएको बताउनुभयो। तर आज त्यो व्यक्ति वृद्धाश्रममा वर्तमान बिताउँदै हुनुहुन्छ। उहाँले राज्यसगँ मात्र आफ्नो गुनासो रहेको र अन्यलाई भन्नु केही नभएको बताउनुभयो।

कान नसुन्नेबाहेक उहाँलाई अहिलेसम्म त्यस्तो अर्को नराम्रो रोग नदेखिएको र यो आश्रममा आएको तीन वर्षको अवधिमा बिरामी परेर अस्पताल पुर्याउनु नपरेको आश्रमका अध्यक्ष ओलियाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्