घरधनीलाई चिन्ता कवाडी मालामाल



नेपाल समाचारपत्र
हेटौंडा
भिजन सडक कार्यालय हेटौंडाले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा सडकखण्डको दायाँबायाँ २५⁄२५ मिटरभित्र परेका घरटहरा भत्काउने काम धमाधम चलाएको छ। बन्द र विरोधका बाबजुद पनि कामले निरन्तरता पाइरहेको हो।

माघ ४ गते केही निजी घर भत्काउँदा हेटौंडाका केही व्यवसायी र घरघनीले सडक विस्तारमा अवरोध पुर्याएपछि केही समय रोकिएको कार्य फागुन ८ गते फेरि शुरु भएको हो। घर भत्किन थालेपछि केही ब्यापारी र घरधनी फेरि आन्दोलित बने र एक दिन मकवानपुर बन्द गराए। तर, बन्द र विरोधले विस्तार कार्य रोक्न सकेन।

सोहीअनुरुप हेटौंडा राप्तिरोडका घर धमाधम भत्किरहेका छन्। हाल राप्तिरोडका व्यापारीले आफ्ना सामान अन्यत्र सारेर र घरधनी आफैंले घरका झ्याल, ढोका निकाल्दै, घर खाली गर्दै सडक डिभिजनलाई ‘सहयोग’ पुर्याइरहेका छन्।

हेटौंडा मुख्य बजारका घर भत्किएसँगै घर बनाउँदा प्रयोग भएका ईंट्टा र रडको ब्यापार चम्किएको देख्न सकिन्छ। राप्तिरोडमा भत्किएका घरहरूका ईंट्टा तथा रड निकाल्न र बेच्न बार्गेनिङ चल्ने गरेको छ। भत्किएका घरमा तराई मूलका पुराना टिन, फलाम खरिदबिक्री गर्ने ब्यापारीले ईंट्टा र रडको ठेक्कै लिएर खरिदबिक्री गर्ने गरेका छन्।

राप्तिरोडका भत्किएका घरमा धेरैजनाले ‘रोजगारी’ पाइरहेका छन् भने पुराना ईंट्टा र रडको ब्यापार चलिरहेको छ। आफूहरूले रड लगेर कवाडी कारखानामा बेच्ने र कारखानाले अन्य ठाउँमा बिक्री गर्ने गरेको भारत बिहारका एक पुराना टिन⁄फलाम ब्यापारी बताउँछन्।

रडको खरिदबिक्रीमा ६०⁄४०, ५०⁄५०, ४०⁄६० जस्ता मूल्यमा बार्गेनिङ हुने गरेको छ। जसअनुसार ६०⁄४० को ६० प्रतिशत पैसा ब्यापारी र ४० प्रतिशत घरधनीलाई हुने गरी किनबेच भइरहेको छ। पुराना ईंट्टामा व्यापारीले उक्त ईंट्टा सग्लै निकालेर घरघनीलाई नै २ देखि ३ रुपियाँमा बेचिरहेका छन्। आफूले एउटा सग्लो ईंट्टालाई २ रुपियाँका दरले लिने गरेको हेटौंडा राप्तिरोडका एक पसलले बताए।

हेटौंडाको बुद्धचोक र राप्तिरोडमा यस्ता व्यापारीको साइकल र ठेलाले फुर्सद पाएका छैनन्। सस्तोमा सामान उठाउन पाउँदा व्यापारी दंग देखिन्छन् भने घरधनीलाई पनि थोरै मात्रामा आर्थिक रूपले सहयोग पुगेको छ यो व्यापारले।

प्रतिक्रिया दिनुहोस्