एउटै श्रोतबाट सिंचाई, खानेपानी, विजुली र पानिघट्ट



ललित सिंह
बझाङ १६ फागुन
उनको घर नजिकै कलकल गर्ने धारा छ । गाँउ नै झिलिमिली हुने गरि विजुली बत्ती बलेको छ । नजिकै घट्ट छ । नियमित सिंचाइ कुलो चलिरहेको छ । प्रत्येकका घरमा करेसाबारी छन । खेतबारी बाह्रैमास हरियाली छ । कतियपले व्यावसायिक तरकारी खेती सुरु गरेका छन ।

पाराकाट्ने गाविसको देवलबांझ र जामबाँझ गाँउका बासिन्दालाई ३ वर्ष पहिलाको दुख देख्दा यो परिर्वतन सपना जस्तो लागेको छ । ‘पानी लिन दिनमा ४ घण्टा टाढा जानु पथ्र्यो । घट्ट पिस्नु पर्दा एक दिन पुरै लाग्थ्यो । हामी दुख पाउनका लागी मात्र जन्मिएका हौकी जस्तो लाग्थ्यो’ पहिलाको दुख सम्झदै सन्तकुमारी सार्कीले भनिन ‘सिचाई थिएन । खेतीपाती पनि राम्रो हुन्थेन । नुन सँग रोटी खान्थ्यौ । दुखै दुख मात्र थियो । अहिलेको सुविधा सम्झीदा पहिलाको दुख सपना जस्तो लाग्छ’ ।

यी दुइ गाँउको कायापलट गाँउ नजिकै रहेको झण्डै १९ वर्ष पुरानो विग्रेको खानेपानीको ट्याङ्कीले गरेको हो । अलपत्र अवस्थामा ट्याङ्कीको मर्मत सँगै इन्जिनियरिङ सिर्जनशिलता प्रयोग गरी सप्रोस नेपाल नामक एउटा सँस्थाले बहुउपयोगी योजना बनाइदिए पछि यहांको अवस्थाले कोल्टे फेरेको हो ।

एशियाली विकास बैङ्कको सहयोगमा जिल्ला खानेपानी कार्यालयले २०५२ सालमा पारकाट्ने गाविसका चारवटा वडालाई खानेपानी पुग्ने गरी योजना निमार्ण सुरु गर्यो । २३ वटा धारा संचालन गर्ने लक्ष्यका साथ सुरु भएको यो योजनाले ७५ हजार लिटरको इन्टेक निमार्ण भयो तर धारा नबन्दै योजनामा अनियमितता भयो । योजना अधुरै रह्यो ।

‘झण्डै १९ वर्ष सम्म अलपत्र रहेको टयाङ्की तोडफोड गरेर काम नलाग्ने भैसकेको थियो’ गरिबी निवारण कोषको साझेदारको रुपमा काम गरिरहेको सप्रोस नेपालका प्राविधिक महेश ढकालले भने ‘समुदायबाट यसको मर्मत गरेर खानेपानी बनाइदिनु पर्यो भन्ने माग आयो । यो माग हामीले कोषमा पठायौ’ इन्जिनियर समेत रहेका कोषका तत्कालिन कार्यप्रवन्धक झरेन्द्र बहादुर सिंहले स्थलगत अनुगमनमा क्रममा यसबाट वहुउपयोगी योजना निमार्ण गर्न सकिने प्रस्ताव गरेपछि समुदाय संग छलफल गरेर एउटै श्रोतबाट खानेपानी, सिंचाई, विद्युत र घट्ट बनाउने निर्णय भयो । सोही अनुसार इन्जिनियरिङ्ग डिजाइन भयो ।

काम नलाग्ने भैकसकेको सोही टयाङ्की लाई मर्मत एक लाख लिटर पानी भण्डारण गर्न सक्ने क्षमताको बनाइएको छ । यसबाट नौ किलोवाट क्षमताको विद्युत उत्पादन भैरहेको छ । तिनवटा गांउ झिलिमीली भएका छन । पावरहाउस नजिकै कुटानी पिसानी मिल संचालनमा छ । यस अघी घट्ट पिस्नको लागी आजजाउ गर्न १० घण्टाको बाटो हिड्नु पर्ने बाध्यता हटेको छ ।

एक सय ४४ परिवारका लागी १९ वटा खानेपानीका धारा निमार्ण भएका छन । ‘सबै भन्दा पानी कै दुख हुन्थ्यो । सुख्खा मौसममा घरको एकजनाले दिनभर पानीकै लागी भनेर बस्नु पथ्र्यो’ स्थानिय गणेश उपाध्याय भन्छन । ‘अहिले त टोल टोलमा धारा छन । पानी भए पछि सबैका घरमा करेसाबारी छन । ताजा तरकारी उत्पादन हुन थालेको छ’

खेती योग्य जमिनको सिरानीमा पावरहाउस निमार्ण गरिएको छ । विद्युत पावरहाउस बाट निस्केको पानीले सधै सुख्खा रहने करिब १० हेक्टर जमिन सिंचाई गर्छ । ‘अहिले त हाम्रो गांउको मुहार नै फेरीएको छ’ स्थानिय रमेश बहादुर सिंह भन्छन ‘यस्तो सुख्खा ठांउमा पानी आउला, विजुली बल्ला अनि हाम्रा खेतमा सिचाईको व्यवस्था होला भनेर हामीले कल्पना पनि गरेका थिएनौ ।’

छुट्टा छुट्टै निमार्ण गरेको भए झण्डै एक करोड जति लागत लाग्ने यो योजना गरीबी निवारण कोष, गाँउविकास समिति र जिआइजेडको अनुदान गरी ३० लाखमा मात्र निमार्ण भएको हो । कोषका तत्कालिन कार्यप्रबन्धक झरेन्द्र बहादुर सिंह भन्छन । ‘यसमा हामीले इन्जिनियरिङ्ग सिर्जनशिलता मात्र प्रयोग गरेका हौ ।

लागतका हिसाबले हेर्ने हो भने ९ किलोवाट विद्युत मात्र निकाल्नका लागी कम्तीमा पनि ३० लाख जति लाग्छ । कम लागतमा एउटै स्रोतबाट बहुउपयोगी योजना पनि निमार्ण गर्न सकिन्छ भन्ने यो उदाहरण पनि हो ।’

यो योजना अहिले जिल्ला कै नमुना भएको छ । जिल्ला भित्रबाट र जिल्ला बाहिरबाट समेत योजना हेर्न र गाँउका मान्छेको जिवनमा आएको परिवर्तनको बारेमा बुझ्नका लागी धेरै मानिसहरु यहां आउने गरेको स्थानीय बताउछन ।

 

प्रतिक्रिया दिनुहोस्