मनाङ सेमिफाइनलका लागि तयार



नेपाल समाचारपत्र
काठमाडौं
शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलका खेलहरु सोमबारबाट शुरु हँुदै छ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्ट्सको सामना गर्दै छ।

आइतबार चितगोङमा भएको पत्रकार सम्मेलनमा मनाङ–मस्र्याङ्दी क्लबमा मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टिम सेमिफाइनलका लागि तयार रहेको बताए। माल्दिभ्सको टिसी स्पोर्टस् क्लब पनि केही विदेशी खेलाडीहरुको साथले राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँदै प्रशिक्षक लोप्साङले मनाङ पनि कमजोर नरहेकाले टिसी स्पोर्ट्सलाई हराउने लक्ष्यका साथ मैदान उत्रने बताए।

‘टिम शारीरिक र मानसिक रुपमा टिसीविरुद्ध खेल्न तयार छ। हामी नियमित समयमै जित निकाल्ने लक्ष्यका साथ मैदानमा ओर्लनेछौं, प्रशिक्षक लोप्साङले भने– ‘हामीले यसअघि समूह चरणमा पनि राम्रै खेलेका थियौं। तर, हामीले सेमिफाइनल प्रवेशका लागि अर्काे खेलको नतिजा कुर्नुपर्यो।

मनाङ समूह ‘बीको उपविजेता तथा टिसी स्पोर्टस् समूह ‘एको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। मनाङले हेड टु हेडको आधारमा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पारेको थियो। मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेनलाई २–० ले पराजित गरेको थियो। दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको मनाङ समूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग २–२ गोलको बराबरीमा रोकिएपछि हेड टु हेडमा मोहमोदेनलाई पछि पार्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

यस्तै टिमका कप्तान अनिल गुरुङले मिहेनत गरेर खेले टिसी स्पोर्टस्लाई हराउने क्षमता मनाङमा रहेको बताए। टिसी स्पोर्टस् पनि राम्रै टिम रहेकाले सोमबारको खेल प्रतिस्पर्धात्मक हुने कप्तान गुरुङले बताए।
यता माल्दिभ्सका प्रशिक्षक निजम मोहम्मदले मनाङलाई सहजै जित्नेमा आशावादी रहेको बताए। मनाङ र हाम्रो खेल एकै स्तरको भए पनि सोमबार मनाङलाई सहजै जित्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्