नागरिक अस्पतालको आठौं बार्षिकोत्सव सम्पन्न



पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।

भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडले आठौं बार्षिक साधारणसभा बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । कार्यक्रममा प्राबिधिक शिक्षा तथा ब्यासायीक तालिम परिषद् (सीटीईभीटी)का निर्देशक टेकबहादुर मल्लले अस्पतालहरुले शिक्षा र उपचार सेवाको गुणस्तर बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

निर्देशक मल्लले अस्पतालले प्रदान गर्ने उपचार सेवा र स्वाथ्यकर्मी उत्पादनका लागि संचालित प्राबिधिक शिक्षाको गुणस्तरमा सम्झौता गर्न नहुने बताउनुभयो । सीटीईभीटीले अनुगमनका क्रममा धेरैजसो शिक्षण अस्पतालको मुख्य समस्या न्युनतम पुर्बाधार नहुनु देखिने गरेको बताउँदै उहाँले नयाँ उपचार सेवा र शैक्षिक कार्यक्रम थप्नु भन्दा पनि भएकालाई सशक्तिकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख केशबराज पण्डितले मानवीय सेवामा जुटेको अस्पतालले जनगुनासोलाई सम्बोधन गर्दै जानुपर्ने बताउनुभयो ।अस्पतालले ३ बर्षमा ६० हजार बिरामीलाई सेवा पुर्याउनु उल्लेखनीय भएको बताउनुभयो ।सरकारले अस्पताललाई ब्यबस्थित गर्न खोजेको बताउँदै उहाँले कुनै ब्यक्ति र संस्थाले आफू अनुकुल बनाएको घरमा स्वास्थ्य सेवा संचालन गर्नु चिकित्सशास्त्रका दृष्टिकोणले खासै उपयुक्त नहुने भएकाले २०७६ सालभित्र हरेक अस्पतालले आफ्नै भवन बनाउनुपर्ने नियम ल्याएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष शुरेश आचार्यले अस्पतालले उपचार सेवा र गुणस्तर बृद्घि गर्दै लानुपर्ने बताउँदै अस्पतालमा कार्यरत कर्मचारीलाई समयसमयमा ब्यबहारीक तालिम दिनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका संचालक समिति अध्यक्ष पुष्पमान अमात्यले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अस्पतालले देशका बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरी हजारौंको संख्यामा बिरामीको स्वास्थ्य परिक्षण गरिएको बताउनुभयो । अस्पताल शैक्षिक कार्यक्रम थप गर्ने,जग्गा ब्यबस्थापन गर्दै अस्पताल र कलेजको भवन निर्माण गर्ने ,नयाँ औजार उपकरणको ब्यबस्थापन गर्ने तथा अस्पतालमा पुरा समय काम गर्ने बिशेषज्ञ तथा चिकित्सक थप गर्दै जाने तयारीमा लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा डा.राकेश बर्मा,मध्यपुर थिमि नगरपालिकाका बरिष्ठ कानुनी सल्लाहकार केशब सिलवाल,अस्पताल संचालक जगतबहादुर श्रेष्ठ,संचालक सुरेशबहादुर श्रेष्ठ,राम आचार्य लगायतले अस्पताल उपचार सेवा र गुणस्तर बृद्घि गर्दै लान कटिबद्घ रहेको बताउँदै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल ब्यबस्थापन पूर्ण प्रतिबद्घताका साथ लागिपरेको बताउनुभयो ।कार्यक्रममा बर्षभरीमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्