विश्व तर्साउने अमेरिकी अभियान



कृष्ण प्रजापती

जनवादी गणतन्त्र उत्तर कोरियाका महामहिम राष्ट्रपति किम जोङ इलको हालै ७५औं जन्मदिवस उत्तर कोरियालगायत विभिन्न देशमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। यस क्रममा हालै उत्तर कोरियाले परीक्षण गरेको आणविक क्षेप्यास्त्र परीक्षणसम्बन्धी व्यापक चर्चा–परिचर्चा पनि भयो। उत्तर कोरियाको सो आणविक परीक्षणले गर्दा अमेरिकी सदनमा हो–हल्ला मञ्चिएको मात्रै होइन कि त्यहाँको सुरक्षा परिषद्को जरुरी बैठक नै बोलाई त्यसको तुरुन्त विरोध पनि शुरु भयो। तर, उत्तर कोरियाको पहिलो वा कहिल्यै नगरिएको क्षेप्यास्त्र परीक्षण पनि थिएन। कोरियाको आणविक परीक्षणले अमेरिका यति डरायो कि कोरिया जस्तो सानो देशले पनि अमेरिका जस्तो देशलाई पनि तर्साउने वातावरण बनाउन सक्दो रहेछ भन्ने कुरा संसारलाई ज्ञात भयो। खासै नयाँ कुरा नभए पनि वा अमेरिकासँग भएको हतियारकै परीक्षण सफल बनाएको भए पनि आफूले गर्दा ज्यादै गौरवका रूपमा लिने अमेरिकाले समाजवादी जनगणतन्त्र उत्तर कोरियाको सो कदमप्रति भने अत्यन्तै नियास्रो मानेर हेरेको पाइयो।

सन् २०१७ को शुरुमा भएको सो सफल आणविक परीक्षणको कारण अमेरिकी सुरक्षा परिषद्को बैठक नै बोलाउनुपर्ने स्थिति आउनुको कारण अब अमेरिका संसारमा एक्लो अतुलनीय शक्तिको रूपमा छैन भन्ने देखियो। अन्तरिक्षबाट पृथ्वी अवलोकन गर्ने यान पठाई सूचना सञ्चारको वैज्ञानिक अवलोकन गर्न पठाउँदा पनि अमेरिकालाई कम टाउको दुखेको थिएन। ब्र≈माण्डको अवलोकन गर्ने उत्तर कोरियाको त्यो योजनाले अमेरिकालाई ‘अगुल्टोले पोलेको कुकुर बिजुलीदेखि तर्सन्छ भनेझैं भएको छ। न्याय र समानतामा आधारिक समाजवादी झण्डा फहराइरहेको उत्तर कोरियाको प्रगतिप्रति साम्राज्यवादी अमेरिकाले पेट दुखाउनु पनि स्वाभाविकै हो। अमेरिकाले जहिले पनि समाजवादी देशहरू चीन, क्युबा, उत्तर कोरिया र अन्य समाजवादी मुलुकको प्रगति कदापि हेर्न चाहेका छैनन्। ५ हजार वर्ष पुरानो इतिहास भएको कोरियाली सभ्यताको तुलनामा अमेरिका झन्डै २ सय वर्षको इतिहास बोकेको देशले के पो छाँट्छ र ? भक्तपुरमा नेवार समुदायले ५५ झ्याले दरबार र ५ तले मन्दिर बनाउँदा अमेरिका पत्ता लागेकै थिएन। त्यसमा पनि अमेरिकाको तुलनामा समाजवादी गणतन्त्र मुलुक उत्तर कोरिया सन् १९४५ मा स्वतन्त्र भएसँगै जुछें विचारधारा अँगालेपछि भने द्रूतरूपमा नै विकासको गति अगाडि बढ्यो।

सन् १९५० देखि ५३ सम्म उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्ध भएको थियो। त्यसपछि भने दक्षिण कोरियामा अमेरिकी कठपुतली सरकार स्थापना गरी हजारौंको संख्यामा दक्षिण कारियामा अमेरिकाका भरौटे सिपाही तैनाथ गरेका छन्। यो क्रम हालसम्म पनि जारी नै छ। त्यसको प्रयोजन नै उत्तर कोरियालाई तर्साउने मात्रै हो। तर, उत्तर कोरियाले आफूलाई आक्रमण गरेको खण्डमा अमेरिकी अखडामै आक्रमण गर्ने गरी सम्पूर्ण नागरिकलाई नै अनिवार्य सैनिक तालिम दिएकाले भने सो खतरा टरिरहेको अवस्था छ। सबै उत्तर कोरियाका नागरिकलाई अमेरिकी साम्राज्यवादप्रति सदा घृणा गर्न सिकाएका छन्। वास्तवमा कोरियाली प्रायद्विपमा शान्ति सुव्यवस्था कामय राख्ने हो भने अमेरिकाले दशकौंदेखि दक्षिण कोरियामा हतियारसहित सेना तैनाथ गरिएकोलाई फिर्ता लगी सन् २०५३ मा भएको दक्षिण र उत्तर कोरियाबीचको सम्झौता लागू गर्नुपर्दथ्यो।

उत्तर कोरियाले जब–जब सफल आणविक परीक्षण गर्दछ, अमेरिकाले विरोध गर्दै आइरहेको छ। अमेरिकी जनता पनि अमेरिकाले उत्तर कोरियामाथि गरेको थिचोमिचोको विरोधी नै छ। कोरिया देशका सबै जनता नै शान्तिगामी छन्।

त्यसैले पनि दुई कोरिया पुनः एकीकरण हुनुपर्दछ भन्ने मान्यता कोरियामा रहेको पाइन्छ। हतियार उत्पादनको काम अमेरिकी साम्राज्यवाद र उत्तर कोरिया दुवैले गरिरहेका छन्। अमेरिकाले संसारलाई तर्साउने हेतुले हतियार निर्माणको कार्य अगाडि बढाइरहेको छ। उत्तर कोरिकाले भने आत्मसुरक्षाका लागि हतियार उत्पादन गरिरहेको हो। यसरी दुई देशको हतियार उत्पादनको उद्देश्य भिन्दाभिन्दै रहेको पाइन्छ।

हिजो सोभियत संघको विघटन पश्चात् अमेरिकाले आफूलाई अब संसारको आणविक शक्तिमा एकलौटी राज गर्न सफल देशको रूपमा लिएको थियो। तर, चीनको समाजवादी अनुशासन र उत्तर कोरिया र क्युबाजस्ता देशहरूले देखाएको अमेरिकी नाकाबन्दीको प्रतिकार र आत्मनिर्भरता जारी राखेका कारण अमेरिकाको मनमा भने चिसो पस्ने गरेको पाइन्छ। कुनै बखत हिटलरले विश्वलाई तर्साए जस्तै हाल अमेरिकाले विश्वलाई तर्साउने गरेको छ। तर, त्यसको प्रतिकारस्वरूप हाल क्युबा, उत्तर कोरिया, चीन जस्ता समाजवादी मुलुकहरूले पनि आ–आफ्नो विश्वासको आधारमा अमेरिकी साम्राज्यवादको धज्जी उडाउने गरेको पाइन्छ। उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षण पनि त्यसकै एक ज्वलन्त नमुनाको रूपमा विश्वसामु छर्लङ्ग देखापरेको छ।

यदि उत्तर कोरिया जस्ता समाजवादी देशहरूले यस प्रकार आणविक परीक्षण मार्फत् यो संसारमा आणविक शक्ति रहेको देश अमेरिका एक्लो होइन भनी प्रामाणित गर्न नसकेको भए विश्वलाई ४०औं पल्ट उडाएर ध्वस्त गर्न सक्ने हतियार निर्माण गर्ने प्रतिस्पर्धा विश्वमा चल्ने थिएन। हतियार उत्पादन र प्रयोग भनेको व्यक्तिको आफ्नो कमाइ जस्तै हो। यदि आफूले कमाएको पैसा जाँडरक्सी खाने र जुवातास खेल्नेमा लगाएर दुरुपयोग गर्ने गर्यो भने नराम्रो परिणाम आउँछ, सज्जनको हातमा परे सदुपयोग।

प्रतिक्रिया दिनुहोस्