राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ७२ करोड लगानी गर्ने



नेपाल समाचारपत्र
काठमाडौं
तरलता समस्या जारी रहेको अवस्थामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ७२ करोड ६९ लाख ५३ हजार रुपियाँ मुद्धती निक्षेप गर्ने भएको छ । विभिन्न कोषमा रहेको नेपाल राष्ट्र बैंकको उक्त रकम एक वर्षे मुद्धती निक्षेपको रुपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले उक्त रकम चैत १ गतेदेखि २०७४ को फागुन मसान्तसम्म मद्धती निक्षेप गर्ने छ । ५० लाख रुपियाँभन्दा माथि लिन चाहेने बैंक तथा वित्तीय संस्थाले रकम र ब्याजदर खुलाई शिलबन्दी दरभाउ फारम राष्ट्र बैंकमा पेस गर्नुपर्ने छ । यसका लागि फागुन १७ गते मंगलबार ३ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पठाउन पर्नेछ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा ५८ करोड १५ लाख ६४ हजार, ‘ख वर्गका विकास बैंकमा १० करोड ९० लाख ४२ हजार र ‘ग वर्गको फाइनान्स कम्पनीमा ३ करोड ६३ लाख ४७ हजार रुपियाँ निक्षेप जम्मा गरिने छ ।

राष्ट्र बैंकको मुद्धती निक्षेपमा रकम राख्नका लागि आवेदक बैंक सञ्चालन भएको दुई वर्ष पूरा हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा माथि हुनुपर्ने, लगानीयोग्य हुनको लागि कर्जा, स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले निर्धारण गरेको सिमाभित्र रहेका बैंक तथा वित्तीय संस्था हुनुपर्ने, गत आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जामा सिमा ननाघेको, सर्वसाधारणका लागि छुट्टाइएको शेयर जारी गरिसकेको, कारबाहीमा परेको भए फुकुवा भएर छ महिना पूरा गरेको हुनुपर्नेलगायतका शर्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्