पदक जित्ने १३ खेलाडीको सम्मान



हेटौंडा,(नेस) । मकवानपुरबाट विभिन्न प्रतियोगितामा पदक जित्ने १३ खेलाडीलाई सम्मान गरिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले आर्चरीबाट ब्राजिलमा सम्पन्न ओलम्पिकमा सहभागिता जनाएका जितबहादुर मोक्तान, सातौं राष्ट्रिय प्रतियोगिताको फुलकन्ट्याक्ट करातेमा स्वर्ण विजेता सन्तोषकुमार लामा, बिनोद थापा र निर्मला लो, उसुमा पदक विजेता कृष्णहरी बर्तौला, करातेकी पूजा खनाल र सातौं राष्ट्रियमा हक्कीमा तेस्रो भएको मकवानपुरे टोलीलाई सम्मान गरेको हो । उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समिति सचिव खुशराज दाहालले जानकारी दिए ।

मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

उनले क्षेत्रलाई व्यावसायिकतासँग जोडेर अघि बढ्नुपर्ने बताए । हेटौंडामा सुरु प्रतियोगिता उद्घाटन गर्दै क्षेत्रीय प्रशासक कोइरालाले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यसँग मात्र जोड्न नहुने बताए । उनले पछिल्लो समय राजनीतिक समस्याले खेलकुदलाई असर पारेको औंल्याउँदै खेलक्षेत्रलाई राजनीतिकरण हुनबाट अलग बनाउनुपर्नेमा जोड दिए ।

जिल्लाका ७८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते, तेक्वान्दो र उसु खेल हुने आयोजक जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

जिल्लाका सबै क्षेत्रमा गरी एक हजार ४ सय ७० विद्यार्थी खेलमा सहभागी छन् । १४ गतेसम्म चल्ने प्रतियोगितामा एथलेटिक्सको २६, भलिबलको २, कबड्डीको २, उसुको ३, करातेको ४ र तेक्वान्दोको ३ गरी ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक खेलकुद विकास समितिले जनाएको छ ।

समितिले जिल्लाका चारै क्षेत्रमा प्रतियोगिताका लागि छनौट गरी जिल्लास्तरीय खेल हेटौंडामा सञ्चालन गरेको हो । प्रतियोगितामा अंकका आधारमा प्रथम हुने विद्यालयले १५ हजार तथा रनिङशिल्ड पाउनेछन् भने द्वितीय हुनेले नगद १२ हजार तथा तृतीय हुनेले नगद ९ हजार रुपियाँ र शिल्ड प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६ स्वर्णको छिनोफानो भएको छ । सटपुट पुरुषतर्फ सूर्योदय मावि राक्सिराङका याकुब मोक्तान, सिद्धार्थ मावि हेटौंडाका विजय केसी र ज्ञानदा मावि हेटौंडाका सुमन नेपाली क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

महिलातर्फ बुद्ध मावि छतिवनकी कविना सिन्तान पहिलो, महेन्द्र मावि छतिवनकी शर्मिला श्रेष्ठ दोस्रो र भोजसिद्ध माविकी वास्ता तामाङ तृतीय भए । ज्याभलिङ थ्रोमा महेन्द्र मावि भीमफेदीका निशान्त रुम्बा, पशुपति मावि हाँडीखोलाका राजा राई र जनजागृति मावि चुरियामाईका देवराज स्यांतानले क्रमशः स्वर्ण, रजत र कास्य जिते ।

महिलातर्फ भीमफेदीकी शक्ति शिकारी, बुद्ध माविकी कविना सिन्तान र महेन्द्र मावि छतिवनकी विनिता राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । १५ सय मिटर पुरुषतर्फ जनक माविका विशाल श्रेष्ठ र साजन भ्लोन पहिलो र दोस्रोहुँदा सूर्य मावि राईगाउ“का प्रज्ज्वल राई तेस्रो भए । महिलातर्फ जनककै सम्झना गौतम पहिलो, जनजागृतिकी अञ्जना बिक दोस्रो र बज्रबाराहीकी शान्ति तितुङ तेस्रो भए ।

प्रतिक्रिया दिनुहोस्