बाजुरामा रैथाने बालीको संरक्षण गरिने



दयाराम पण्डित, बाजुरा
ल्लाको रैथाने बालीको संरक्षण सदुपयोगका लागि कार्ययोजना बनेको छ। त्यही कार्ययोजनाअनुसार नेपाल खाद्य संस्थान बाजुराले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ। लोपोन्मुख रूपमा रहेको रैथाने बाली फापरलाई खरिद गर्नका लागि पहल भइरहेको नेपाल खाद्य संस्थान बाजुराका मेघराज ओझाले बताउनुभएको छ।

जिल्ला कृषि विकास कार्यालय बाजुराको पहल र नेपाल खाद्य संस्थान बाजुराको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालय बाजुराका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठले बताउनुभएको छ। उहाँले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बालीको प्रवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्ने गरी फापरलाई खरिद गर्न लागेको बताउनुभयो।

जिल्लाबासीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले रैथाने बाली फापर खरिद गर्न लागेको वरिष्ठ अधिकृत डा. श्रेष्ठले भन्नुभयो। जिल्लाबाट आर्थिक वर्ष २०७३⁄०७४ का लागि ६० क्विन्टल फापर खरिद गर्ने बताइएको छ। खरिद गरिने फापर सुकाई केलाई गरी कोल्टी डिपो खाद्य संस्थानमा बिक्री गर्न जिल्ला कृषि विकास कार्यालय बाजुराले कृषक वर्गलाई आग्रह गरेको छ। जिल्लाको रैथाने बाली फापरको प्रतिकेजी ५५ रुपियाँका दरले खरिद गरिने भएको छ। आठ महिनाको लामो संघर्षपछि फापर खरिद गरिन लागेको श्रेष्ठको भनाइ छ। प्रतिकूलका बाबजुद पनि खरिद गर्न लागेको हो।

जिल्लाको खाद्य सुरक्षाको अवस्था सुधार, मलको खपत, भकारो सुधार अभियानको अतिरिक्त रैथाने बाली संवद्र्धन र प्रवद्र्धन गरी खेती नै छोडेकाहरूलाई त्यसमा आकर्षण गर्ने हेतुले अरू कार्यक्रमलाई यथावत् राख्दै फापरलाई बढी प्राथमिकता दिइएको छ। यस वर्ष फापर खरिदपछि जिल्लाबाट उत्पादन भएको फापर २० देखि ३० क्विन्टल बिक्री हुने उहाँले विश्वास गर्नुभएको छ।

खाद्य असुरक्षित जिल्ला भएकाले यसको सुधार गर्न यसले मार्ग निर्देश गर्ने बताइएको छ। बीउ संकलन गर्न २० क्विन्टल बाजुराबाटै खरिद गरिने भएको छ। फापर खरिदका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा माघ १२ गते बसेको बैठकले निर्णय गरेको नेपाल खाद्य संस्थान मार्तडीका प्रमुख मेघराज ओझाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्