पति र पत्नीको हत्या गर्ने बने नयाँ दम्पति,जेलमै विवाह भएपनि सँगै बस्न नपाउने



कालीवहादुर मल्ल
कालिकोट । जिल्ला कारागार कालिकोटमा रहेका कैदीहरुको एक जोडीे जेल भित्रै विहीवार विवाह बन्धनमा बाँधिएको छ । कालिकोट राचुली गाविस—९ का ३३ बर्षीय डिल्ली कोइराला र कालिकोट लालु—७ घर भएकी ३० बर्षीया मिम्कोशा विष्ट विच विवाह भएको हो ।

कोइराला पत्नी हत्या गरेर जेल सजाय भोग्न आएका हुन् भने विष्ट पनि पतिको हत्याको अभियोगमा जेल सजायमा आएको जेलर संजय महतोले बताए । उनका अनुसार, डिल्ली कोइरालाले २०६८ साल साउन २९ गते पत्नी नन्दशोभा कोइरालाको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गते जेल चलान भएका हुन् । त्यस्तै मिम्कोशाले २०७२ असोज १ गते पति प्रेम विष्टको हत्या गरेपछि जिल्ला अदालतको फैसला अनुसार असोज १० गते जेल चलान भएकी हुन् । पत्नी हत्याको आरोपमा डिल्ली र उनकी आमा रन्ता कोइराला कैदी भएका थिए । बन्दीगृह भित्र महिलाको छुट्टै र पुरुषको पनि छुट्टै वस्ने खाने ब्यवस्था छ ।

तर डिल्लीकी आमा महिला वस्ने कोठामा हुँदा मिम्शोभालाई बुहारी बन्न अनुरोध गरेकी थिईन् । जेल भित्रै बधु बनेकी मिम्कोशाले भनिन, ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ । मैले पतिको हत्या गरें । डिल्लीले पनि पत्निको हत्या गरे । त्यसैले उनीसंगै विवाह गर्न मन लाग्यो ।’ दुवैलाई एउटै प्रकृतिको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालतले फैसला गरेको थियो । कैदी डिल्ली कोइरालाले भने— आमाले मिम्कोशालाई विवाहको प्रस्ताव राख्दा स्वीकार गरेकी हुन् । त्यसै कारणले विवाह गरेको हौ । जेलबाट भविष्यमा छुट्दा एक अर्काेले पत्नि मार्ने र पति मार्ने भनेर झगडा नहुने भएकाले पनि हाम्रो दिर्घकालीन माया हुन्छ ।’ उनले थपे— ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ । दुईटैको कमजोरी भएको छ । कमजोरी गरेकोले कमजोरी गर्ने संगै विवाह गरेको हुँ । ’

उनीहरुले जेल भित्रै विवाह गरे पनि कानुनी रुपमा जेल सजाय पुरा नगर्दासम्म संगै हुन नपाउने जेलर संजय महतोले बताए । डिल्ली कोइरालाले सात बर्ष कैद सजायँ भोगेका छन् भने उनले ३ वर्ष अझै जेल कुर्नु पर्ने छ । त्यस्तै मिम्कोशाले १ बर्ष जेल सजाय भोगे पनि अझै ४ वर्ष सजाय भोग्न बाँकी छ । कोइरालाद्धारा हत्या गरिएकी पहिलेकी पत्निबाट दुई छोरा छन् भने विष्टका १ छोरा र ३ छोरी छन् । विष्टसंगै ५ बर्षकी छोरी छन् । विवाह कार्यक्रममा पुजारी जयचन्द्र अधिकारीले विवाह गराएका थिए । विवाहमा पत्रकार तथा मानव अधिकारकर्मीको सहभागिता रहेको थियो । पत्नि हत्या गरेर विदुर बनेका कोइराला र पति हत्या गरेर विधुुवा बनेकी विष्टको वैवाहिक सम्वन्ध दिर्घायुका लागि जेलर संजय महता ेलगायतकाले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्