नेपाली युवाको सिंगापुरे योजना



दीपेन्द्र थापा
(सिंगापुरबाट फर्केर)
कमल बस्यालसँग एउटै मात्र सपना थियो– विदेश गएर उच्च शिक्षा हासिल गरी राम्रो जागिर खाने। यही सपना पछ्याउँदै उनी १६ वर्षअघि सिंगापुर पुगेका थिए। उनले त्यहाँ होटल म्यानेजमेन्टमा स्नातक तह पनि उत्तीर्ण गरे।

समय परिवर्तनसँगै उनमा जिम्मेवारी पनि थपिन थाल्यो। उनले अध्ययनलाई अगाडि बढाउँदै काम शुरू गरे। बुटवलका बस्याल पढाइ पूरा गर्ने उद्देश्यका साथ सिंगापुर पुगेका थिए। परिपक्वता सँगसँगै विस्तारै कमलको मन परिवर्तन हुँदै गयो। र, अन्ततः होटल म्यानेजमेन्ट पढेका कमललाई त्यस क्षेत्रमा नभई अर्कै क्षेत्रमा हात हाल्ने विचार पलायो।

उनले सिंगापुरमा रहेको रियल स्टेटमा लगानी गर्ने सोच बनाए र उनलाई अहिले यो काममा सफलता पनि मिलेको छ। उनको सिंगापुरसहित अस्ट्रेलिया, कम्बोडिया र सिंगापुरका रियल स्टेटमा लगानी छ। रेस्टुरेन्टमा निर्देशक रहेका बस्यालले अहिले त्यसबाट बचेको रकम र समयलाई लगानीमा परिणत गरेका छन्। उनी भन्छन्– ‘हामीजस्ता युवाहरू केही गर्न सकिँदैन भनेर बस्नुहुँदैन। आँट र आत्मविश्वाससहित अघि बढ्यो भने अवश्य सफल भइन्छ। त्यसका लागि अलि मेहनेतको जरुरी हुन्छ।

शुरुआती दिनमा उनी सिंगापुरमा रहेको अमेरिकी कम्पनीको हाड रक्स क्याफे र बियर कम्पनीमा काम गरे। ‘शुरूमा सामान्य काम गरिन्थ्यो। विस्तारै क्षमता बिकास हुँदै गयो। अहिले धेरै कुरा जान्ने भइसकेको छु –उनको भनाइ थियो।
उनको मेहनत र सफलताको कदर गर्दै नेपाल पर्यटन बोर्डले सिंगापुरका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ। सिंगापुरमा उनी पर्यटन उद्यमीको रूपमा काम गरिरहेका छन्। नेपाल पर्यटन बोर्डले विदेशमा पेसा व्यवसाय गरिरहेका प्रतिभाशाली नेपालीमध्ये एक जनालाई पर्यटन सद्भावना दूतका रूपमा नियुक्ति गर्ने गरेको छ।

पर्यटक भित्त्याउन आफूले नेपालको आवश्यक जानकारी दिने, नेपालमा रहेका होटल र पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गर्ने योजना रहेको बस्यालले नेपाल समाचारपत्रलाई बताए। उनी सिंगापुरको मुख्य पर्यटकीय क्षेत्र मेरिना बे स्यान्डसमा रहेको बाजिन् ग्रुपमा निर्देशकका रूपमा कार्यरत छन्। उक्त कम्पनीमा बस्यालको नेतृत्वमा १७ जनाले रोजगारी पाएका छन्।

उनले नेपालमा पनि लगानी गर्ने सोच बनाएका रहेछन्। कमल भन्छन्– ‘मलाई नेपालमा पनि लगानी गर्ने सोच छ, अब दुई वर्ष अस्ट्रेलिया गएर बस्छु र त्यसपछि सिंगापुर र नेपालमा इभेन्ट कम्पनी खोल्ने योजना छ।

नेपालमा बेरोजगारी समस्याका रूपमा पैदा भइरहेको बेला नेपाली भएर विदेशमा सानसँग बस्न पाउँदा निकै खुसी भएको बस्यालको भनाइ छ।

आउँदो चैत ११ र १३ गते सिंगापुरमा हुन गइरहेको ट्राभल रिभोलुसन प्रदर्शनीमा नेपालको पनि स्टल राख्ने तयारी भइरहेको कमलले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्