महिलामा ‘पिसाव चुहिने’ रोगको उपचार शुरु



मोतीराम तिमल्सिना,काभ्रे

महिलाहरु हाँस्दा, हिड्दा वा खोक्दा र गह्रुङ्गो भारी बोक्दा पिसाव चुहिने समस्याबाट पीडित महिलाहरुका लागि धुलिखेल अस्पतालमा उपचार शुरु गरिएको छ । यस अघि उक्त रोग महिलाहरुले लुकाउँदै आएका थिए ।

विवाहित भई बच्चा जन्माईसकेका, गर्भवती भएका वा महिनावारी रोकिने अवस्थामा पुगेका महिलाहरुमा यो रोग हुने धुलिखेल अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. आभा श्रेष्ठले बताईन् । केहि महिना अघि अस्पताल आफैले अस्पतालमा विभिन्न प्रकारको रोगबाट पीडित भई उपचारमा आएका महिलाहरुमा गरेको सर्भेक्षणमा १ सय महिलामा तीस जनालाई यस्तो रोग भए पनि लुकाउने गरेको तथ्याङ्क फेला परेको डा. श्रेष्ठले बताईन् । अस्पतालका अन्य क्षेत्रहरु र धुलिखेल अस्पतालमै उपलब्ध विरामीहरुबाट गरेको सर्भेक्षण पछि अस्पतालले यस्तो खालको सेवा दिन शुरु गरेको हो ।

उक्त सेवालाई प्रभावकारी बनाउन देशभर कार्यरत विभिन्न अस्पतालका ६६ जना चिकित्सक, नर्स, फिजियोथेरापिस्टहरुको दुई दिने सम्मेलन धुलिखेल अस्पतालमा सम्पन्न भएको छ ।

सम्मेलनमा जर्मनका डाक्टर बन्हार्टउलको नेतृत्वमा एक टोली सहभागि भएको छ । पहिलो चरणमा उक्त रोगबाट पिडीत भएका ९ महिलाहरुको उपचार गरिएको छ । पहिलो दिन उक्त रोगका बारेमा विषयगत जानकारी गराई दोश्रो दिन उपचारमै सहभागि भएको डा. आभा श्रेष्ठले जानकारी दिईन् । महिलाहरुमा त्यस्तो समस्या भएपछि खोक्दा, हाँस्दा र बोल्दा समेत खुट्टा च्याप्नु पर्ने, पिसाव गर्न शौचालय पुगिसकेपछि ढोका लगाउन नपाउँदै भित्री कपडामै पिसाव चुहिने, पिसाव कपडामा चुहिएपछि लामो समयसम्म रहँदा गन्हाउने र सोहि पिसावका कारण इन्फेक्सन समेत हुने गरेको थियो ।

डाक्टरहरुले पनि उपचारका लागि अस्पताल आएका महिलाहरुलाई एलर्जीको उपचार गराउँदा पनि त्यो रोग नभन्ने र अरु रोगको उपचार हुने गरेको थियो । पिसाव चुहिएर एलर्जी भएको अवस्थामा समेत महिलाहरुले थाहा नपाउने श्रेष्ठले बताईन् ।

उक्त रोगको तीन प्रकारको उपचार विधी रहेको छ । पहिलो महिलाहरुका लागि एक्सरसाईज गराउँदै किगल्स विधीबाट गर्ने, दोश्रो टिविटी अप्रेसन, तेश्रो वर्षकल्पु सस्पेन्सन र चौथो टिओटी विधी रहेका छन् । पहिलो विधीबाट पनि महिलाहरुको पिसाव चुहिने समस्या रोकिन सक्छ । विषेषगरी महिलाहरुले बच्चा जन्माउँदा वा गर्भवती भएपछि भित्रका नशा र पिसाव जम्मा हुने थैलीहरु खुकुलो भई पिसाव चुहिन जान्छ ।

उमेर भन्दा पनि विवाहित महिलाहरुमा यो खालको समस्या देखिन थालेको छ । नशामा समस्या भएका, स्पाईनल इन्जुरी भएका महिलाहरुमा यो रोग धेरै देखा परेको छ । महिलाहरुले लुकाई राख्ने गरेको पिसाव चुहिने समस्याबाट मुक्त हुन धुलिखेल अस्पतालले अनुरोध समेत गरेको छ । ‘यस अघि रोगको पहिचान नै नभई उपचार हुँदै आएको थियो, महिलाहरुमा हुने रोगहरु मध्ये यो फरक खालको तर अधिकांशमा हुन सक्ने रोग पहिचान भएको छ, सँगै उपचार पनि शुरु गरेका छौं’–स्त्री रोग विशेषज्ञ डा. आभा श्रेष्ठले भनिन् ।

प्रतिक्रिया दिनुहोस्