सेमिफाइनल पुग्ने धुनमा मनाङ



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ प्रतियोगितामा सेमिफाइनल पुग्ने आशाका साथ मनाङमस्र्याङ्दी क्लब आज मैदानमा उत्रनेछ।
आफ्नो समूह चरणको दोस्रो खेलमा मनाङले अफगानिस्तानको टिम शाहिन आस्मयीसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार आफ्नो पहिलो खेलमा मोहमोदेन स्पोर्टिङलाई उनकै घरेलु मैदानमा २–० ले हराएकाले पनि मनाङले दोस्रो जित निकाल्ने सम्भावना प्रबल बनेको छ।

यदि जित हात पारेमा नेपाली टोलीको प्रतियोगितामा अन्तिम चार निश्चित बन्नेछ। तर पराजय बेहोरेमा भने बुधबारै हुने दोस्रो खेलको नजिता कुर्नुपर्ने हुन्छ। उता मनाङको प्रतिद्वन्द्वी शाहिन आस्मयी भने आफ्नो पहिलो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग ३–१ ले पराजित भएको थियो।

मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अफगानिस्तानको शाहिन आस्मयीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। ‘पहिलो खेलमा पराजित भएको आस्मायी अर्काे चरण प्रवेशका लागि गर या मरको अवस्थामा छ। हामीलाई पनि सेमिफाइनलमा प्रवेशका लागि जित्नै पर्ने दबाब छ। –गुरुङले बताए।

यस्तै कप्तान अनिल गुरुङले दोस्रो खेलका लागि टिम तयार रहेको बताए। ‘पहिलो खेल जितेको हौसलाका साथै प्रशिक्षण पनि राम्रै भएको छ, आशा छ बुधबार सकरात्मक नतिजा निस्कनेछ, कप्तान गुरुङले भने– ‘दोस्रो खेल पनि जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउनेछौं

प्रतिक्रिया दिनुहोस्