आउँदो सातादेखि निर्वाचन आचारसंहिता



काठमाडौं, (नेस)
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी अघि बढाएको छ।

निर्वाचन आयोगले सरुवा बढुवा, नियुक्ति, अनुदानलगायत कार्यहरू गर्न नहुने गरी आचारसंहिता लागू गर्ने गृहकार्य अघि बढाएको हो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवका अनुसार आउँदो सातादेखि निर्वाचन आचारसंहिता लागू हुनेछ।

आचारसंहिता लागू भएपछि सरकारले निर्वाचन आयोगको सहमतिबेगर कुनै पनि सरुवा, बढुवा र नियुक्ति, आर्थिक सहयोगलगायत कामहरू गर्न पाउँदैन। निर्वाचन आचारसंहितासँगै निर्वाचनको कार्ययोजना तयार गर्ने पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो। निर्वाचनको मिति घोषणाअघि नै प्रक्रियामा गइसकेका सरुवा बढुवा र नियुक्ति प्रक्रियालाई भने रोक्न नसकिने निर्वाचन आयोगले जनाएको छ। लोकसेवा आयोगले सूचना प्रकाशित गरिसकेका परीक्षाहरू अवरुद्ध नहुने निर्वाचन आयोगले जनाएको छ। यस्तै निर्वाचन आयोगको अनुमतिमा भने सरकारले आवश्यक कर्मचारी, सुरक्षाकर्मीलगायत आफ्ना निकायलाई सरुवा तथा काजमा परिचालन गर्न सक्नेछ।

यसैबीच आयोगले चुनावका लागि ८० लिटरका ब्यालेट बक्स (मतपेटिका) चाहिने बताएको छ। ठूलो साइजका मतपेटिका करिब २५ हजारको संख्यामा चाहिने भएको छ। आगामी चुनाव भोटिङ मेसिनबाट नभएर मतपत्रबाटै हुने पनि आयोगले स्पष्ट पारेको छ। तर, मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रले मात्रै नभ्याउने आयोगको भनाइ छ। ठूलो साइजका पारदर्शी मतपेटिकाहरू विदेशबाटै ल्याउनुपर्ने आयोगले जनाएको छ।

यसैबीच राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले आगामी चुनावमा भोटिङ मेसिनको प्रयोग सम्भव नभएको बताउनुभयो। विद्युतीय भोटिङ मेसिन सम्भव नभएको बताउँदै यादवले मतपत्रमै चुनाव हुने जानकारी दिनुभयो। प्रमुख आयुक्त यादवका अनुसार अहिलेको चुनावमा करिब २१ हजार मतदान केन्द्रहरू रहने छन्।

प्रतिक्रिया दिनुहोस्