युनाइटेड र टोटनह्याम क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लबहरू म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो। ब्लाकबर्नको घरेलु मैदानमा भएको खेलको १७औं मिनेटमा डेनी ग्राहमको गोलबाट गृह टोलीले शुरूआती अग्रता लिएको थियो। तर उक्त अग्रता खेलको २७औं मिनेटमा तोडियो। युनाइटेडका मार्कस रासर्फडले गोल गरेपछि पहिलो हाफसम्म दुवै टोली १–१ गोलको बराबरीको स्थितिमा रहेको थियो।

यस्तै खेलको ७५औं मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गर्दै युनाइटेडको गोलसंख्या दुई पुर्याए। त्यसपछि खेलमा कुनै गोल भएन र युनाइटेडको जित सुनिश्चित बन्यो। जितसँगै युनाइटेडले क्वार्टरफाइनलमा चेल्सीसँग भेट पक्का गरेको छ।

एफए कपअन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले पनि फुल्ह्यामलाई ३–० ले हराएको छ। खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरेका थिए। खेलको १६औं मिनेटमा गोलको खाता खोलेका केनले ५१औं मिनेटमा दोस्रो गोल गरेका थिए। यस्तै ७३औं मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पूरा गरेपछि टोलीले ३–० को जित आत्मसात गर्यो। जितसँगै टोटनह्यामले क्वार्टरफाइनलमा मिलवालको चुनौती पाएको छ।
मेसीको गोलले बार्सिलोना विजयी

लियोनेल मेसीले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना विजयी भएको छ।
आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले लेगन्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदान नोउक्याम्पमा भएको खेलको ९०औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई गोलमा बदलेपछि बार्सिलोनाले लेगन्सलाई पराजित गरेको हो। यसअघि खेलको चौथो मिनेटमा पनि मेसीकै गोलबाट बार्सिलोनाले शुरूआती अग्रता लिएको थियो।

पहिलो हाफसम्म एक गोलले अघि रहेको बार्सिलोनाविरुद्ध खेलको ७१औं मिनेटमा लोपेजले बराबरी गोल फर्काएका थिए। च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा ४–० गोलको पराकिलो हार बेहोरेपछि बार्सिलोनाले यो नै पहिलो जित हात पारेको हो।
जितसँगै बार्सिलोना पुनः ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोना २३ खेलबाट ५१ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो। यता दुई खेल कम खेलेको लिग लिडर रियल मेड्रिडको ५२ अंक छ। ला लिगाअन्तर्गतकै अन्य खेलहरूमा सेल्टा भिगोले ओसासुनालाई ३–० ले पराजित गर्दा भ्यालेन्सियाले एथ्लेटिक बिल्बाओलाई २–० ले तथा भिया रियलले रियल सोसिडाडलाई १–० पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्