चाँडो निर्माण गर



राजधानीमा राजनीतिक खिचातानी बढिरहेका बेलामा आइतबार राति बीपी रामजमार्गमा आएको सुख्खा पहिरोले यात्रुलाई अप्ठेरोमा पारेको छ। राजधानी जोड्ने वैकल्पिक राजमार्गका रूपमा रहेको सो राजमार्गमा आएको समस्याले ठूलो संख्यामा यात्रुहरू प्रभावित हुने अवस्था उत्पन्न भएको छ। त्यसैले भत्किएको बाटोलाई चाँडोभन्दा चाँडो पुरानै अवस्थामा फर्काउनका लागि राज्यका सबै संयन्त्रहरू तत्कालै युद्धस्तरमा खट्नु जरुरी रहेको छ। यसो हुन नसकेमा त्यसबाट ठूलो हैरानी व्यहोर्नुपर्ने संकेत आइसकेका छन्।

जापान सरकारको सहयोगमा बनेको सो राजमार्गको गुणस्तरलाई राम्रो मानिन्छ। तर, अहिले सुख्खा पहिरोले त्यसको एउटा अंश भत्किन गएकाले पुरानो गुणस्तरलाई कायम राख्दै काम अघि बढाइहाल्नुपर्ने आवश्यकता रहेको छ। यसलाई भूकम्पपछिको पुनर्निर्माणमा वर्षौंसम्म ठोस काम हुन नसकेको जस्तो गरिनुहुन्न।
सिन्धुलीको शीतलपाटी गाविस–९ बेनिघाट खाल्टेमा पहिरो जाँदा सो राजमार्गमा क्षति पुगेको हो। पहिरोका कारण करिब १ सय मिटर बाटोमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बाटोको तल्लो भागमा सुख्खा पहिरो गई बाटो भत्किएर राजमार्ग अवरुद्ध भएको हो। आइतबार राति ११ बजेदेखि सुख्खा पहिरो गएको थियो। राजमार्ग अवरुद्ध हुँदा बीपी राजमार्ग हँुदै सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर तथा पूर्वका जिल्ला र तराईका जिल्लाहरूबाट काठमाडौं जाने गाडीहरू बाटोमा अलपत्र परेका छन्। राति ९ बजेबाट राजमार्ग बन्द हुने हुँदा पहिरोमा परेर कुनै धनजनको क्षति भने हुन पाएन। सुनकोसी किनारको भीरबाट राजमार्ग बनेकाले तत्काल वैकल्पिक बाटो बनाउने अवस्था नरहेकोले पुरानै बाटोलाई सकेसम्म चाँडो बनाउनु जरुरी रहेको छ।

यसरी पुनर्निर्माण गर्दा गुणस्तरीय सामग्री प्रयोग नहुँदा पटकपटक समस्या उत्पन्न हुने गरेको विगतका कैयौं दृष्टान्तलाई ध्यान दिँदै आवश्यक कदम चालिहाल्नु उपयुक्त हुन्छ। यसबाहेक राजधानीमै पनि बाटो भत्काउने र पुर्ने क्रम तीव्र गतिमा भइरहेको छ। तर, निर्माणको कामले गति नलिँदा काठमाडौं अहिले धुलेमाडौंमा परिणत भइरहेको छ। त्यसबाट मानवस्वास्थ्यमा नकारात्मक असर गरिरहेकाले त्यसतर्फ राज्यका निकायले अविलम्ब सोचेर पुनर्निर्माणको कार्य चाँडो सक्नु जरुरी रहेको छ। राज्यका सबै अवयवहरूलाई एकीकृत ढंगले अगाडि बढाउने हो भने त्यो काम सक्न पनि खासै गाह्रो कुरा होइन। सम्बद्ध पक्षले अविलम्ब ध्यान देऊ।

प्रतिक्रिया दिनुहोस्