ट्रम्पको बयानलाई लिएर ह्वाइट हाउसको सफाइ



वासिङटन, (एजेन्सी)
स्विडेनका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानलाई लिएर ह्वाइट हाउसले सफाइ दिएको छ।

राष्टपति ट्रम्पले फ्लोरिडामा एक र्यालीलाई गरेको सम्बोधनमा भनेका थिए– ‘हेर्नूस् जर्मनीमा के भइरहेको छ, स्विडेनमा हिजो राति के भयो, स्विडेनले धेरैलाई शरण दियो। अब उनीहरूका अगाडि समस्या छन्। जुन पहिला कहिल्यै थिएन। ब्रसेल्समा हेर्नुहोस, के भइरहेको छ, विश्वलाई नै हेर्नूस् के भइरहेको छ। पेरिसलाई नै लिनूस्। हामीले हजारौंलाई आफ्नो देशमा आउन दिएका छौं। कुनै छानविन भएको छैन, कुनै कागजात थिएन, तर हामी आफ्नो देशलाई सुरक्षित बनाउँछौं।’

अमेरिकी राष्ट्रपतिले कुन घटनाको उल्लेख गरेका हुन्, ट्रम्पको उक्त बयानलाई लिएर स्विडेनले अमेरिकासँग जवाफ मागेको थियो। ह्वाइट हाउसले फ्लोरिडा र्यालीमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले कुनै विशेष घटना नउठाएको जनाएका छन्। यसैबीच ट्रम्प आफैंले ट्विट गर्दै उनले स्विडेनमा बढ्दो अपराधलाई लिएर फोक्स न्युजको एउटा प्रतिवेदनको आधारमा बयान दिएको बताए।

स्विडेनमा डोनाल्ड ट्रम्पको बयानपछि सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पलाई उडाउँदै लास्ट नाइट स्विडेन ह्यास ट्याग ट्रेन्ड चलाए। ट्विटरमा स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्टले ट्रम्पको बयानमाथि प्रश्न उठाए। स्विडेनका आधिकारिक ट्विटर चलाउने जिम्मेवारी हरेक हप्ता फरक–फरक व्यक्तिको हातमा हुने गर्छ। यो हप्ता एउटा स्कुल लाइब्रेरियन एमा जोहेनसनलाई यसको जिम्मेवारी दिइएको थियो।

स्विडेनको अखबार एफ्टोनडेटको वेबसाइटमा शुक्रबार दिनभरि यस विषयमा समाचार आइरहको थियो। केहीले ट्विटरमा ट्रम्प स्विडेन र पाकिस्तानको नाममा अलमल भएको हुनुपर्छ। हालै मात्र पाकिस्तानमा एउटा दरगाहमा आत्मघाती आक्रमण भएको थियो। स्विडेनमा सन् २०१३ देखि शरणार्थीका लागि ढोका खुला गर्ने नीति लागू गरेको थियो तर अहिलेसम्म कुनै कट्टरपन्थी हमला भएको छैन।

प्रतिक्रिया दिनुहोस्