प्रेमध्वजलाई मल्टिपलको सम्मान



कला र साहित्यमार्फत् मुलुकको विकासमा योगदान पुर्याएबापत मल्टिपल कलेजले ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई सम्मान गरेको छ।

प्रजातन्त्र दिवसको अवसरमा शनिबार कलेज प्रांगण जोरपाटीमा आयोजित कार्यक्रममा गायक प्रधानलाई सम्मान गरिएको हो। पुराना स्रष्टाहरूलाई सम्मान गर्ने र उनीहरूको रचनाबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका प्राचार्य भवानी पौडेलले बताए।

प्रधानलाई सम्मान गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले मुलुक विकासका लागि संगीत र साहित्य बलियो हतियार रहेको चर्चा गरे। ‘कलाकारले सधैं राष्ट्रियतालाई शिरमा राखेर काम गरिरहेका हुन्छन्। उनीहरूले विकृतिलाई आफ्नो रचनामार्फत् प्रहार गरिरहेका हुन्छन्। यस हिसाबले मुलुकलाई रूपान्तरण गर्न कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ’ –उनको भनाइ थियो।

पुराना स्रष्टालाई सम्मान गर्ने उद्देश्यले कलेजमा अध्ययनरत विद्यार्थीहरूले गायक बच्चु कैलाशका विभिन्न १२ सदावहार गीतहरू प्रस्तुत गरेका थिए। वरिष्ठ संगीतकार प्रकाश गुरुङले पुराना स्रष्टालाई सम्मान गर्ने पारिपाटी हटिसकेको अवस्थामा कलेजले सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताए। ‘अहिले नयाँ पुस्ताले मुलुकका सम्पत्तिका रूपमा रहेका पुराना पुस्तालाई बिर्सिसकेका छन्।
यस्ता सम्मानले उनीहरूको सिर्जना र उनीहरूलाई कालजयी बनाइराख्न मद्दत गर्दछ’ –श्रेष्ठले भने। त्यसै गरी जनगायक रामकृष्ण दुवाल, गीतकार बुद्धवीर लामालगायत गीतसंगीत क्षेत्रका डेढ दर्जन स्रष्टाले गीत र संगीतको जगेर्ना गर्नु सबैको कर्तव्य भएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्