सुगममै मातृ मृत्यु बढी



बाँके

गतवर्ष कालिकोटमा एकजना सुत्केरी आमाको मृत्यु भयो । मुगु, हुम्ला, जाजरकोट, बर्दिया र सल्यानमा २÷२ जना आमा मरे ।

जुम्ला र प्यूठानमा ३÷३ जना आमाको मृत्यु भयो । दैलेखमा ४, रोल्पामा ५ र बाँकेमा १४ जनाको मृत्यु भयो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सुर्खेतका तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार, रुकुम, दाङ र डोल्पामा सुत्केरी आमाको मृत्यु भएन ।

जिल्ला अस्पतालसँगै मध्यपश्चिमका जिल्लामा ८ देखि ५५ वटासम्म बर्थिङसेन्टर छन् । डोल्पामा सबैभन्दा कम ८ र दैलेखमा धेरै ५५ वटा बर्थिङसेन्टर छन् । प्यूठानमा ४२, रोल्पामा ४९, सल्यानमा ३७, दाङमा ३६, बाँकेमा ३१, बर्दियामा १६, सुर्खेतमा ४७, जाजरकोटमा ३४, जुम्लामा १८, कालिकोटमा २८, मुुगुमा ११ र हुम्लामा २२ वटा बर्थिङसेन्टर छन् ।

सरकारले जिल्लामा ठूल्ठूला अस्पताल र गाउँगाउँमा बर्थिङसेन्टर बनाएपनि मातृ मृत्युदर भने मध्यपश्चिममा धेरै नै रहेको छ । गतवर्ष ४७ जना सुत्केरी आमाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले तथ्यांकीय लापरबाहीले गर्दा जिल्लागत रिपोटिङ अस्तव्यस्त रहेको छ । चालु आर्थिक वर्ष आठ महिना चलिरहेदा क्षेत्रसँग पछिल्लो तथ्यांक नै छैन ।

बाँकेमा चालु आर्थिक वर्षमा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । सुगम जिल्ला भएपनि क्षेत्रमै सबैभन्दा धेरै मातृ मृत्युदर रहेपछि बाँकेमा अहिले आमा सुरक्षा कार्यक्रम चलिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले आमा सुरक्षा कार्यक्रम सञ्चालन भएपछि मृत्यु भएको खबर नआएको बताउनुभयो । ‘मासिक दुई जनाको दरले मृत्यु भएको थियो, आमा बचाउ अभियानअन्तर्गत घरघरमा स्वास्थ्यकर्मी खटाएपछि मृत्यु भएको खबर आएको छैन, खड्काले भन्नुभयो ।

क्षेत्रभरीमा ४ सय ६० वटा बर्थिङसेन्टर छन् । जिल्ला अस्पताल पनि छन् । नियमित गर्भ जाँचदेखि बच्चा जन्माउन स्वास्थ्य संस्थामा नजाने प्रवृत्तिले गर्दा आमा र बच्चाको मृत्यु रोकिन सकेको छैन ।

दुर्गम भन्दा सुगम जिल्लामै मातृ–शिशु मृत्युदर बढी देखिएको छ । बाँके, सुर्खेत, रोल्पा, दैलेख यस क्षेत्रमा अगाडि छन् । दुर्गम जिल्लाको रिपोटिङ कमजोर भएकाले बाहिर नआएको हुन सक्ने संभावना पनि एकातिर रहेको छ । बालविवाह, वर्षेनी बच्चा जन्माउने, पोषण र सरसफाई अभाव, नियमित स्वास्थ्य जाँचको कमीले गर्दा यस क्षेत्रमा मातृ–शिशु मृत्युदर अधिक रहेको छ ।

सरकारले गाउँगाउँमा बर्थिङसेन्टर बनाएपनि सुत्केरी हुने क्रममा अन्तिममा त्यहाँ पु¥याउने गरेको पाइन्छ । स्वास्थ्य संस्थामै बच्चा जन्माएमात्रै गाविसले जन्मदर्ता गराउनेजस्ता कतिपय गाविस गाविसले जारी गरेको उर्दीलाई सबै ठाउँमा पु¥याउनु पर्ने आवाजहरु उठ्न थालेका छन् ।

यो क्षेत्रमा आमासँगै नवजात शिशु मृत्युदर पनि अधिक रहेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार, गतवर्ष २ सय ९९ शिशु जिउँदो जन्मेर मरेका छन् भने एक हजार एक सय २२ जना मृत जन्मेका छन् । भौगोलिक विकटताले गर्दा कामको चाप, पोषण, जाँच, औषधी सेवनलगायतले गर्दा मृत बच्चा जन्मिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्