रियल मेड्रिड विजयी



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गतको खेलमा रियल मेड्रिड विजयी भएको छ।
शनिबार राति भएको खेलमा रियल मेड्रिडले स्पानियोललाई २–० गोल अन्तरले हराएको हो। घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियल मेड्रिडले खेलको ३३औं मिनेटमा मोराटाको गोलबाट पहिलो हाफसम्म १–० को अग्रता लिएको थियो। यस्तै खेलको ८३औं मिनेटमा गेरेथ बेलले गोल गर्दै रियलको जित २–० ले सुनिश्चित पारे। चोटका कारण करिब तीन महिनापछि मैदान फर्किएका बेलले पहिलो खेलमा नै गोल गर्न सफल भएको हो।

शनिबारै भएको अर्को खेलमा सेभियाले एइबरलाई हराएको छ। योसँगै बार्सिलोनालाई पछि पार्दै सेभिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सेभियाले एइबरलाई २–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलको ३०औं मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभियाले शुरुआती अग्रता लिएको थियो। यस्तै खेलको अन्त्यतिर भिटोलोले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित पारे।

स्पेनिस ला लिगाअन्तर्गत भएको अन्य खेलमा एथ्लेटिको मेड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले हराउँदा अलाभेसले पनि डेपोर्टिभो ला कोरूनालाई १–० ले पराजित गरेको छ। शनिबारको जितसँगै रियलले तीन अंकको अग्रता कायम गरेको छ। लिग लिडर रियल मेड्रिडको २१ खेलबाट ५२ अंक हुँदा दोस्रो स्थानमा उक्लेको सेभियाको २३ खेलबाट ४९ अंक भएको छ। यस्तै २२ खेल खेलेका बार्सिलोना ४८ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्