राप्रपा अध्यक्षमा थापा पक्का



९८ केन्द्रीय सदस्यका लागि ३ सय ६३ जना भिड्दै

रामकृष्ण चापागाईं, काठमाडौं
काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा शीर्ष नेताहरूको सहमतिअनुसार अध्यक्ष कमल थापा सर्वसम्मत रूपमा निर्वाचित गर्ने भनिए पनि सो पदमा अर्का उम्मेदवार पनि थपिएका छन्। यद्यपि थापा अध्यक्ष हुने लगभग पक्का भएको छ।

अध्यक्षमा नेता प्रदीपविक्रम राणाले पनि उम्मेदवारी दर्ता गराएपछि मतदानद्वारा नै अध्यक्ष चुनिने अवस्था उत्पन्न भएको छ। ९८ जना केन्द्रीय सदस्यका लागि भने ३ सय ६३ जनाको उम्मेदवारी परेको छ।

केन्द्रीय सदस्यमा निर्वाचित गर्नुपर्ने ३३ महिला र ६५ पुरुषमध्ये १ सय जना महिला र २ सय ६३ जना पुरुषको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचनमा मतदाताको संख्या ३ हजार ४ सय ८५ रहेको छ। केन्द्रीय सदस्यका लागि कुल १ सय ६३ सदस्य रहने केन्द्रीय कार्यसमितिमा अध्यक्ष र ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छ। पदाधिकारी सदस्य २३ जना भने अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ।

२४ सदस्यीय पदाधिकारीमा ३ जना उपाध्यक्ष रहनेछन् भने महामन्त्री ३, प्रवक्ता १, कोषाध्यक्ष १, सहमहामन्त्री ५, सहायक महामन्त्री ७, सहायक कोषाध्यक्ष १ र सहायक प्रवक्ता २ रहने व्यवस्था गरिएको छ। पदाधिकारी सबैलाई निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ।

राप्रपाको शीर्ष चार नेता कमल थापा, डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दबीच एकता महाधिवेशनबाट अध्यक्षमा थापालाई सर्वसम्मत निर्वाचित गर्ने सहमति भएको थियो।

आम कार्यकर्ताको भावनाविपरीत शीर्ष चार नेताले अँध्यारो कोठामा गरेको सहमति अमान्य हुने भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का राणाले पनि अध्यक्षमा उम्मेदवारी दिएका हुन्। उहाँले उम्मेदवारी दिने क्रममा थापा पक्षधरका कार्यकर्ताहरूले अवरोध गरे पनि उहाँले उम्मेदवारी दिनुभएको थियो। उम्मेदवारी दर्ता गर्नुपूर्व पत्रकार सम्मेलन गरी राणाले अध्यक्ष थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको आरोप लगाउनुभएको थियो।
बिहानैदेखि आफूले उम्मेदवारी दर्ता गर्न खोजे पनि निर्वाचन समितिका निरञ्जन थापाले फर्म नदिएको आरोप पनि उहाँले लगाउनुभएको थियो। अघिल्लो दिन बन्दसत्रमा राजतन्त्र र हिन्दूराष्ट्रका बारेमा बोल्न खोज्दा अध्यक्ष थापाले घोक्रेठइक लगाएर निकाल भनेको भनी उहाँले आक्रोश पनि पोख्नुभएको थियो।
अध्यक्ष थापाको आदेशलगत्तै आफूलाई बन्दसत्रबाट लतार्दै बाहिर निकालेको उहाँको भनाइ थियो। उहाँले आफ्नो उम्मेदवारी सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाका लागि भएको बताउनुभएको छ।

राणाले उम्मेदवारी दिएपछि थापालाई सर्वसम्मतिमा निर्वाचित गर्ने र राणालाई उम्मेदवारी झिक्न लगाउनेबारे यो समाचार तयार पारुञ्जेल प्रयास भइरहेको थियो।

निर्वाचन समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार राणाले उम्मेदवारी दिनुभएको तर झिक्न लगाउनेबारे प्रयास भइरहेको छ। निर्वाचन समितिका ती सदस्यका अनुसार रातिसम्म उहाँले उम्मेदवारी झिक्ने सहमति बन्ने सम्भावना छ।

अध्यक्षमा दाबी गरिरहनुभएका अर्का नेता प्रकाशचन्द्र लोहनीले भने उम्मेदवारी दिनुभएन। राप्रपाले पार्टी सञ्चालनका लागि एक उच्चस्तरीय निर्देशन समिति बनाउने र त्यसको संयोजक लोहनीलाई दिने सहमतिअनुसार उहाँले उम्मेदवारी नदिने बताइएको छ। निर्देशन समितिको नेतृत्व चक्रीय प्रणालीअनुसार लोहनी, राणा र चन्दले पालैपालो गर्ने सहमति भएको स्रोतको दाबी छ।

राप्रपाले उम्मेदवारी दर्ताबाट मात्र साढे २६ लाख रुपियाँ संकलन गरेको छ। उम्मेदवारी दर्ता गर्दा केन्द्रीय सदस्य पदका लागि ७ हजार र अध्यक्ष पदका लागि ५० हजार तोकिएको थियो। आज सोमबार बिहान प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेदेखि मतदान हुने निर्वाचन समितिका बाबुराम बस्नेतले जानकारी दिनुभएको छ। मतदानमा १० वटा विद्युतीय भोटिङ मेसिन राखिने जनाइएको छ।

उम्मेदवारी दर्तासँगै हिजो आइतबार दिनभर महाधिवेशनस्थल भृकुटीमण्डपमा आ–आफ्नो उम्मेदवारलाई विजयी गराउन कार्यकर्ताहरूले बाजागाजासहित प्रदर्शन गरेका थिए। प्लेकार्ड, पोष्टर, ब्यानरले महाधिवेशनस्थल रंगीन बनेको छ। बाजागाजा र नाचगानले दिनभरिको माहोल रमणीय पनि बनेको थियो। उम्मेदवारले छुट्टाछुट्टै प्रचार टोली बनाएर महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन्।

अधिकांश जिल्ला अध्यक्षहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले राप्रपाको जिल्ला अध्यक्षहरू फेरिने भएका छन्। विधानअनुसार तल्लो तहमा कार्यकारी पदमा रहेकाले माथिल्लो तहमा निर्वाचित भएमा, मनोनित भएमा तथा दरखास्त दिएमा स्वतः तलको पद जाने व्यवस्था गरिएको छ। अधिकांश जिल्लाहरूमा अब कार्यसमितिले निर्वाचन गरी अध्यक्ष चुन्नेछन्।

प्रतिक्रिया दिनुहोस्