अग्नी पिडित १ वर्ष देखि छाप्रोमा



 आगोलागिबाट नष्ट भएको घर, बारिको पाटोमा आगोबाट जोगाएका सामाग्रिको साथमा वसिरहेका बालबालिका तथा अग्नी पिडितहरु ।

सिन्धुली
सिन्धुलीको भुवनेश्वरी ७ मुर्कीगाउमा लागेको आगोले घरवास विहिन भएका ४५ परिवार अहिले पनि छाप्रोमा नै वस्न बाध्यछन् । भुकम्प पिडित तथा अग्नी पिडितले हाल सम्म घर निर्माण गर्न नसकेका कारण करिब १ वर्ष सम्म छाप्रोमा नै बास वस्न बाध्यछन् । गत चैत्र २६ गते लागेको डढेलो गाउँ पसेपछि ४५ भन्दा बढि घर जलेर नष्ट भएका थिए ।

२०७२ बैशाख १२ को भुकम्पमा सिन्धुलीको गढतिर क्षेत्र नै वढी प्रभावित भएका थिए । दलित वस्ति मुर्कीवेसीका आदासरो घर निजी आवास पुननिर्माणको लाभग्राही सुचिमा पनि परेका थिए भने घर भत्केका तर लाभग्राही सुचिमा नपरेका आदासरो घरपरिवारले पून गुनासो फारम भरेका कारण लाभग्राही सुचिमा नाम परिहाल्छ कि भनेर हाल सम्म घर नवनाई आसैआसमा वसिरहेका छन् ।

आगोलागीबाट नष्ट भएका ४५ घर मध्य अहिले सम्म पनि करिब ३३ घर परिवार छाप्रोमा नै वसिरहेका स्थानीय अर्जुन बयलकोटीले जानकारी दिनुभयो । भुकम्पको गुनासोका नतिजा आउने आसमा र विभिन्न अन्य समस्याका कारण अग्नी पिडितहरुले हालसम्म पनि घर निर्माण गर्न नसकेको अर्जुन वयलकोटीले वताउनुभयो । अग्नी पिडितलाई घर निर्माण गर्न काठ, पानी र आर्थिक अभाव रहको अर्जुन वयलकोटीले वताउनुभयो ।

‘अधिकाँश अग्नी पिडितले जलेर बाँकी रहेको ढुङगा र माटोको गारोमा लिपपोत गरी जस्ता तथा तिर्पालको छानो लगाएर वसेका छौं, भुकम्पको लाभग्राही सुचिमा नाम नपरेर पुन गुनासो फारम भरेका थियौं, त्यसैको नतिजाको प्रतिक्षामा बसिरहेका छौं’ स्थानीय अग्नी पिडित गीता वयलकोटीले भन्नुभयो । ‘सरकारको आस नगरी आफैले वनाएका भए एतिखेर नयाँ घरमा वसिरहेका हुनेथियौं, भुकम्पको राहत पाईन्छ की भनेर वसौं, भुकम्पले भत्किएको घरमा एक वर्ष विताएका थियौं त्यो पनि आगोले खाईदियो, लगाउने, खाने वस्ने सबै आगोले खाईदियो राज्यको राहतको प्रतिक्षामा वर्षा हिउदा वित्यो केहि पाईएन’ पिडित वयलकोटीले गुनासो गर्नुभयो ।

आगो लागीमा परि स्थानीय एक प्राथमिक विद्यालय पनि नष्ट भएको थियो । हाल सम्म सो प्राथमिक विद्यालय पनि अस्था सिकाई केन्द्रमा नै सञ्चालन भई रहेको छ । विभिन्न संघ संस्थाको सहयोगमा अस्थायी सिकाई केन्द्र निर्माण गरि पठनपाठन सञ्चाल गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर वयलकोटीले जानकारी दिनुभयो ।

स्थानियले आगोलागिवाट करिब १ करोडको हाराहारीमा क्षति भएको थियो । विभिन्न गैर सरकारी संघ संस्थाले तत्काल राहत सामाग्रि खाद्यन्न, लत्ताकपडा उपलब्ध गराएका थिए भने नेपाल सरकारले प्रति परिवार ५ हजारका दरले राहत उपलब्ध गराएका थिए । आगोलागि लगत्तै राहत सामाग्रि उपलब्ध गराए पनि पछि कुनै संघ संस्था वा सरकारले वास्ता नगर्दा अग्नी पिडित मुर्कीगाउको जनजिवन कष्टकर वनिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्