निर्वाचनको विकल्प छैनःनेता सिटौला



बनियानी (झापा), ७ फागुन । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्दुगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो “अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ” ।

नेता सिटौलाले “संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक छ” भन्दै मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र खतरामा पर्न सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रले सुशासनका लागि निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “आफ्नो अधिकारको खोजी गर्दा राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई बिर्सनु हुँदैन ।”

सो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि निजामती कर्मचारी युनियन (सङ्घ) झापाको अध्यक्षमा कवीन्द्रविक्रम नेम्वाङलाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै सचिवमा ज्ञानु सिवाकोटी, सहसचिवमा भानुभक्त भट्टराई र कोषाध्यक्षमा तेजबहादुर पौडेललाई निर्विरोध चयन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्