जहाँ गयो उहीं ठिक्क



नेपालका नेता जुन ठाउँमा पुग्यो त्यही ठाउँलाई सुहाउने कुरा गर्न खप्पिस भएको धरहराले लामो समयदेखि देख्दै र सुन्दै आएको छ। नेताहरू गर्न केही नसक्ने तर जहाँ गयो त्यहींका मानिसलाई प्रभाव पार्ने गरी भाषण गर्ने कलामा चाहिँ खप्पिस भएको देखेर धरहरालाई लाग्न थाल्यो यो देशका नेता अब केही गर्न नसकेपछि कोसँग नजिक भएर सत्ता टिकाउन सकिन्छ भन्ने सोचमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार रोल्पा पुगेर आफू संकटमा परेपछि रोल्पाका जनतासँग सल्लाह गर्न आएको बताएर रोल्पाली जनताको मनमा बस्न खोजेका मात्र के थिए त्यहाँबाट फर्केर काठमाडौं आएपछि आफू राप्रपासँग नजिक हुन चाहेको बताए।

होइन रोल्पाली जनतासँग नजिक हुने कि राप्रपासँग नजिक हुने त्योचाहिँ छुट्याउनुपर्यो है कमरेड। मायाप्रीति धेरैसँग लगाइयो भने त भोलि अप्ठेरोमा परिन्छ नि ⁄ जहाँ गयो त्यहीं यस्ता गुलिया कुरा गर्दा नेता र जनताले त केही समय पत्याउलान्। सधैं यस्ता कुराले न देश चल्छ न पार्टी, यसमा चाहिँ होस् पुर्याउने कि ? कि कसो त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्