‘भोगी’का निकै मीठा गजल



ज्ञानमणि नेपाल कालोटोपी
युवा गजलकार निर्मल पुरी ‘भोगी’ले आफ्नो पहिलो गजल संग्रह प्रकाशित गराउनुभएको छ। आफ्नै जीवनका अनेक भोगाइहरुलाई समेटेर यसलाई सबैको भोगाइ बनाउने उहाँको प्रयासले एउटा पुस्तककै रुप पाएको छ। यसमा ७३ वटा गजलहरु अटाइएको छ। सबै गजलहरु मिठासपूर्ण छन्।

मानिस एउटै हो, कहिले ऊ निकै रमणीय ठाउँको अनुभव गरिरहेको हुन्छ भने कहिले दुःखपूर्ण अवस्थाको भोगाइ भोगिरहेको हुन्छ। सुख र दुःख मानिसको जीवनका भोगाइ नै हुन्। आज चोटको सामना गरिरहेको मानिस भोलि त्यो चोटलाई बिर्संदै नयाँ सपनाहरुको तानाबाना बुनिरहेको हुन्छ। कहिले ऊ स्वर्गजस्तो ठाउँमा पुग्छ भने कहिले डरलाग्दो नरकजस्तो ठाउँमा पुग्छ। यो नै जिन्दगीको पाटो हो भन्ने कुरालाई गजलका रुपमा प्रस्तुत गर्नु पुरीको गजल कला हो। पहिलो गजल संग्रहमै उनी तिखारिएका छन्। निकै मीठा छन् गजलहरु।
स्वार्थ होइन तिमीलाई छोड्नु बाध्यता
तिम्ले पनि पराई घुम्टो ओढ्नु बाध्यता
तिमीलाई केवल संसारमै आफ्नो ठानें
अहिले आएर सबै नाता तोड्नु बाध्यता
यस्ता गजलहरु पढ्दा निकै रमाइला र मीठा पनि लाग्छन् तर गजल लेख्न पुर्याउनुपर्ने नियमहरु पालना गरिएन भने ती रचना गजल नै हुँदैनन्। गजलका लागि ‘काफिया’ र ‘रदि’ मिल्नुपर्छ। उनले यसमा यी नियमहरुको पालना गरेका छन्। त्यसैले त उनका गजल रसिला र पठनीय बनेका हुन्।
सम्झनामा हातमा देको फूलको के कुरा
घात गरी छाडी गयौ भूलको के कुरा
म मस्त थिएँ यहाँ थकान र निन्द्रामा
साप बनी डसी गयौ झूलको के कुरा
निर्मल पुरी आफ्ना गजलमा भावनाले भरिपूर्ण छन्। भावनालाई शैली र अनुभवले माझ्न चाहन्छन् उनी। गजलीय अनुभूतिमा रमाउन चाहन्छन्, त्यसैले उनको शुरुवाती यो गजल संग्रह पठनीय र संग्रहणीय बनेको छ। सुजु प्रकृति प्रकाशनले बजारमा ल्याएको यस पुस्तकलाई पाठकहरुले १७५ रुपियाँमा किन्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्