भाग्यशाली काम गर्दै “अभागी” बनेका सदानन्द



मोहन दुवाल
म उनलाई ‘अभागी’ भन्न रुचाउँदिन। किन राखे यिनले आफ्नो नामको पछाडि ‘अभागी’। सदानन्द नामअनुसार पनि ‘अभागी’ होइन। त्यस्तै कामअनुसार पनि। तर पनि उनी आफूलाई ‘अभागी’ भनी चिनाइरहेछन्। उनै सदानन्द जैसीसँग एकाध वर्ष मात्र भयो नवलपरासी कावासोतीमा चिनजान भएको। सरल, स्पष्ट बोलिहाल्ने सदानन्दसँग चिनजान भएपछि उनको साहित्यिक योगदान, सिर्जनालाई तौलेर राष्ट्रमा देखाइदिन मन लाग्यो र यस्तै परिणाममा म सदानन्दलाई चिनाइरहेछु।

वि.सं. २००३ चैत्र १ गते शङ्करपोखरी–४, नुवार ठूलाघर, पर्वतमा पिता कलाधर रिजाल तथा माता नन्दकली रिजालका छोरा भई जन्मेका यिनी डिलकुमारी र पार्वतीको माया संयोजन गरी छोरा–३ र छोरी–४ का बाबु बने। कृषि विषयमा बी.एस्सी.सम्म उत्तीर्ण गरेका यिनले माटो विशेषज्ञका रूपमा सरकारी जागिर खाए। करिब ३४ वर्ष कृषि सेवामा यिनले आफ्नो जीवन–क्रम गुजारे। कृषि विज्ञानका पुस्तकहरूका साथै थुपै्र साहित्यिक कृतिहरू यिनले प्रकाशित गराए। यिनका वैज्ञानिक कृषि विज्ञानका कृतिहरूमा विभिन्न बालीमा मलखादको आवश्यकता र प्रयोग विधि, उर्वराशक्ति बढाउन प्रयोग मलको एक झलक, एकीकृत खाद्यतत्व व्यवस्थापन कार्यपुस्तिकाजस्ता थुप्रै खालका पुस्तक⁄पुस्तिकाहरू अंग्रेजी र नेपालीमा प्रकाशित छन्। सहलेखनमा त दर्जनौं अन्य कृतिहरू प्रकाशित गराएर आफूलाई सक्षम माटो विशेषज्ञका रूपमा राष्ट्रमा साबित गराएर देखाउन सफल छन्। कृषिका अनेकौं आयामहरूलाई वैज्ञानिक ढङ्गले व्याख्या गर्न सक्षम लेखक भएकै कारणले कृषि सेवामा यिनको नाम उल्लेख्य छ। वरिष्ठ माटो विशेषज्ञका रूपमा चिरपरिचित सदानन्द जैसी साहित्यिक क्षेत्रमा ‘सदानन्द अभागी’का रूपमा परिचित छन्।

‘अभागी’ साहित्य लेखनका क्षेत्रमा अथक् साधकका रूपमा नवलपरासी, चितवन क्षेत्रमा प्रख्यात छन्। २०२० को दशकदेखि साहित्य लेखनमा हात चलाउँदै आएका अभागी २०५० सालदेखि साहित्यिक लेखनमा विशेष सक्रियता देखाउँदै आएका छन्। जीवनमा उनी आफूले जानेका, देखेका, भोगेका कुराहरूलाई साहित्यमार्फत फुकाउन मन पराउँछन्। काठमाडौंमा नपुगेका, काठमाडौंले थाहा नपाएका ओझेलमा परेका थुपै्र साहित्यकारहरू राष्ट्रमा व्यापक छन्। यस्तै थुपै्रमध्येका एकजना साहित्यिक साधक हुन्– सदानन्द अभागी। तुरुन्तातुरुन्तै सफलताको डिङ हाँक्नेहरू तुरुन्तै उदाउँछन्, त्यस्तै तुरुन्तै बिलाउँछन्। तर लेखिरहन मन गर्नेहरू जस्तै अप्ठ्यारोमा पनि लेखिरहन्छन्। ती लेखिरहने कोटीमा सम्मानपूर्वक उच्चारण गर्न हुने नाम हुन्– सदानन्द ‘अभागी’।

साहित्य समाजको दर्पण हो भन्न रुचाउने यिनी साहित्यमार्फत विकासमा टेवा पुर्याउनुपर्छ भन्छन्। सुख–दुःख, हाँसो–रोदनकै समिश्रण हो जीवन भनेर जीवनबोध गर्दै आएका यिनी नोकरीको क्रममा भारत, जाापन, इजिप्ट, फिलिपिन्स, थाइल्यान्डसम्म आफूलाई घुमाएका छन्। महाकवि देवकोटा यिनका लागि प्रिय तथा प्रेरणाको नाम बन्यो। त्यस्तै ‘सेक्सपियर’ यिनका लागि मन परेका साहित्यकार भए। लेखन क्षेत्रमा लाग्न पाउँदा खुशी हुन्छन् उनी। कविता, कथा, उपन्यास, नियात्रा, समालोचना, जीवनी विधाका ३१ वटा साहित्यिक पुस्तकहरु पनि यिनका प्रकाशित छन्। यिनका सबभन्दा पछिल्लो कृति ‘सिंहवाहिनी (२०६३) समीक्षात्मक पौराणिक महाकाव्य हो।

धेरैजसो मान्छेहरू निरन्तर लागिरहन सक्दैनन्। निरन्तर यात्रामा लागिरहन सक्नाले नै मान्छेहरूलाई यात्रामा सार्थक बनाउँछन्। यिनी सिर्जनामा थाक्न नजानेका र सिर्जना मन पराइरहने अविचल यात्री हुन्। जीवनका आयामहरूलाई टिप्न सिपालु लेखकका रूपमा देखाउन मिल्ने सदानन्द अभागीले प्रेम–प्रणयका, दुःख–व्यथाका, देशका समसामयिक विषयका, मानवीय दृष्टि, भावनाका अनगिन्ती प्रसङ्गहरू आफ्नो साहित्यिक कृतिहरूमा व्यक्त गरेका छन्। अध्यात्मवाद र भौतिकवादकै विचार–पृष्ठबाट जन्मिदै जान्छन् मानवतावादहरू। कतै उनी अध्यात्मवाद, कतै भौतिकवादसँग नारिएको जस्तो देखिए तापनि उनी मानवतावादका पक्का हिमायती हुन्। उनका समग्र साहित्यिक ग्रन्थहरूले सार सङ्क्षेपमा यस विचारको वकालत गरेको देखिन्छ। आफ्नै देशको माटो चिनेका थोरै मात्र स्रष्टाहरूमा उनी वरिष्ठ माटो विशेषज्ञ हुन्। माटो नै मलिलो नभएपछि, माटो नै खण्डहर परेपछि, माटो नै मरुभूमिजस्तो भएपछि माटोमा हरियाली जीवन्त राख्न गाह्रो हुन्छ। उनी देशको माटोलाई मलिलो तुल्याउन अभियानमा लागेर देशकै माटोका विज्ञ बनेका हुनाले यिनले देशको माटोलाई हराभरा तुल्याउन साहित्यमार्फत पनि प्रयास जारी गरेका छन्। कृषि सेवामा जीवनदान दिइसकेका यिनी नेपाली वाङ्मयका अथक् साधक हुन्। कृषिसम्बन्धी पैतीसौं कृतिका सर्जक भई आफूलाई कृषि विज्ञानका सामथ्र्यवान् लेखकका रूपमा राष्ट्रमा चिनाइसकेका यिनले साहित्यमा पनि अनेकौं कृतिहरू प्रकाशित गराएर अथक् साहित्य यात्रीका रूपमा चिनाएका छन्।

साहित्यमा प्रवेश गर्नु, साहित्यलाई मन पराइदिनु र त्यस्तै गरी आफैं सिर्जनामा रमिदिनु भनेको सिर्जनाशीलता मनपराइदिनु हो। साहित्य मानवीय भावना, संवेदनाका हरफहरू हुन्। मान्छेकै लागि अत्यन्त आवश्यक नभई नहुने सार्थक विषय साहित्य पनि हो तापनि अर्थहीन सम्झेर तिरस्कार गर्नेहरू पनि थुपै्र छन्। यस परिप्रेक्ष्यमा राखेर सदानन्द अभागीले साहित्यलाई सधैँ मनपराइदिए। उनी जागिरे हुँदा पनि साहित्य मन पराएर लेखे। अहिले पनि त्यही बाटो पछ्याएर बाँचिरहे। नवलपरासीका लागि त उनी धन्य छन्। थोरै मात्र स्रष्टाहरू छन् नवलपरासीमा, त्यस माटोमा रमेर यिनले आफूसक्दो सेवा र सिर्जना फुकाउँदै छन्। लक्ष्मी स्मृति साहित्य समाजको अध्यक्ष भएर सेवा पुर्याउँदै आएका यिनी ‘नव माधुरी’ र ‘हाम्रो मझेरी’मा पनि संलग्न छन्। कवि हरिभक्त कटुवालकै पे्ररणा पाएर साहित्य क्षेत्रमा लागेका यिनी समाजको विकृति हटाउन, समाजलाई जागृत गराउन, सकारात्मक पक्षको उजागार गर्न साहित्य लेख्न मन पराउँछन्।
साहित्य युगको आवाज हो। साहित्य ऐतिहासिक दस्ताबेज पनि हो भन्ने मान्यता बोकेर साहित्यमा मन लगाउँदै आएका यिनका सिर्जनाका हरफहरूले नवलपरासीको माटोलाई हरियाली तुल्याइदिएका छन्। २०२० सालतिर आसाममा छँदा कवि हरिभक्त कटुवाललाई यिनले चिनेका हुन्। लेखकहरू स्वाभिमानमा बाँच्ने गर्छन्। साहित्यकारहरू सत्ताका चाकडी गर्दैनन्। सत्ताका दासहरू लेखक भएको मलाई थाहा छैन। लेखक हुनु भनेको प्रतिपक्षमा आफूलाई सदैव राख्न जानु हो। कसैको मूल्याङ्कन पर्खेर कसैले मूल्याङ्कनमा पार्छ कि भनी लोभ गर्नुहुँदैन। यसै सन्दर्भमा उनी यसरी आफ्नो विचार राख्ने गर्छन्– सही मूल्याङ्कनलाई कसरी परिभाषित गर्ने, यो एउटा जटिल विचार प्रश्न हो। शोधपत्रलाई लिएर गर्ने कि या दोसल्ला ओढाएको अर्थमा लिने, यो साहित्यिक क्षेत्रमा आफ्ना कृतिले कमाएको ख्यातिलाई लिने। साहित्यिक सिर्जना गर्दा मेरो मूल्याङ्कन हुन्छ या हुँदैन भनेर मैले लेख्ने गरेको छैन। माथि मैले उठाएका प्रश्नहरूमा पनि मैले धेरथोर सबै भोगेको छु र मैले स्वमूल्याङ्कन गर्दा मेरो लेखाइमा म सन्तुष्ट छु, साथै मूल्याङ्कन भएको महसुस गरेको छु। यही त हुन् लेखकहरूभित्र मर्मशील हुँदै फुल्नुपर्ने स्वअस्तित्वहरू। नत्र स्वाभिमान गिर्छ, लेखकको अहं मर्छ। यस्ता भावना बोकेका कवि मनले देशकाबारे कसरी सोच्छन् ? गजलमा यसरी लेखेका छन् यिनले–
मीठा–मीठा चिप्ला–चिप्ला भाषण नै गरी
सोझा–साझा जनतालाई लुट्नसम्म लुटे।

संसारमा नोट, कोट र भोट
यिनले निम्याउँछन् बिस्फोट।

विकृतिलाई हुल्नु हुन्न ठिक्क सोच्नुहोस्
कुविचारमा डुल्नु हुन्न ठिक्क सोच्नुहोस्।

सत्य बोल्नु मीठो बोल्नु बानी राम्रो हो
जीवनको भाव खोल्नु बानी राम्रो हो।
जीवन यात्रा त हो, सत् यात्रामा रम्न सिक्दा थाक्नुहुँदैन। सिर्जनामा मन दिइरहन सकोस्– आफू सक्दा पनि लेख्ने हो, आफू नसक्दा पनि सिर्जना सोचिरहने हो। सिर्जना मन पराउनेहरु थाक्नुहुँदैन, म सदानन्दलाई ‘भाग्यमानी’ मान्छे भनिरहेछु।

प्रतिक्रिया दिनुहोस्