विश्वका नायक छान्न बालबालिकाद्वारा मतदान



रोशन पराजुली, हेटौंडा ।
मकवानपुरको हाँडीखोला–७, मसिनेको पशुपतिनाथ माविको चौरमा शुक्रबार विहानदेखि किला गाड्ने र डोरी टाँग्ने काम भइरहेको देखेर स्थानीयले उत्सुकतापूर्वक चासो दिइरहेका थिए । ‘आज स्कुलमा के हुँदैछ ?’ भनेर प्रश्न गर्ने अभिभावकको जिज्ञासा जब मतदान सुरु भयो, त्यसपछि मात्र मेटियो ।

कक्षा ४ देखि १० सम्मका करिब तीन सय ५० बालबालिका लाइनमा उभिएर पालैपालो मतदान गर्न अघि बढे । विद्यालयका शिक्षकले दिएको मतपत्रमा आफूलाई मन परेको उमेदवारलाई मतदान गरी मतपत्र बाकसमा खसाल्दै उनीहरु मतदानस्थलबाट बाहिरिए । मतदान गरिसकेपछि शिक्षकले हरेक मतदाता विद्यार्थीलाई एक पुरिया बिस्कुट हातमा थमाउँदै बिदा गरे ।

पशुपतिनाथका बालबालिकाले मतदान गरेको उमेदवार भने सवै विदेशी नागरिक हुन् । बालबालिकाका लागि क्रियाशील रहेका जर्मनीका रोजी गोलम्यान, अफ्रिकन नेता म्यानुएल रोड्रिगेस र एसियन मोली मिल्किङ चुनावी मैदानमा छन् । बालबालिकालाई मन परेका तीनै उमेदवारले ग्लोबल भोटिङ पाएका हुन् । मतपेटिकामा ग्लोबल भोटिङ फर अल चिल्ड्रेन लेखिएको थियो ।

२० वर्षदेखि स्थानीय निर्वाचन नभएको भए पनि पशुपतिनाथ मावि हाँडीखोलाका बालबालिकाले बिगतमा पनि यसैगरी आमनिर्वाचनको झल्को दिने गरी मतदान गरेका थिए । बालअधिकारका क्षेत्रमा क्रियाशील व्यक्तित्वबारे कक्षामा विद्यार्थीसँग एक दिन छलफल गरेर मतदान प्रक्रियामा सहभागी गराइएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।

माइती नेपालको सहयोगमा विद्यालयमा बालअधिकारका लागि ग्लोबल भोटिङ गराइएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले बताइन् । नामटारको वासुकी आधारभूत विद्यालय र पशुपतिनाथ माविमा एकसाथ मतदान गरिएको हो । बालबालिकाको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई अन्तर्राष्ट्रिय समुदायमा पुरस्कारस्वरुप ग्लोबल भोटिङले सम्मान गर्ने माइती नेपाल संयोजक लामाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्