पत्रकार महासंघमा लगाइएको ताला खुल्यो



काठमाडौं, (नेस) । फागुन २ गते देखि नेपाल पत्रकार महासंघमा लगाइएको ताला शुक्रबार खोलेको छ । महासंघमा लागेको ताला खुलेसँगै महासंघका जिल्ला शाखाहरुको अधिवेशन गर्ने बाटो खुलेको छ ।

भोलिबाट सुरु हुने पूर्वाञ्चलको अधिवेशन पनि पाँचथर बाहेक अन्य जिल्लामा निर्धारित मितिमै हुने भएको छ । साथै सदस्यता वितरणमा विवाद नदेखिएका अन्य जिल्लामा पनि अधिवेशन निर्धारित मितिमै हुने भएको छ ।सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल प्रेस युनियन र पत्रकार महासंघबीच सहमति भएको छ ।

महासंघ र युनियनका अदाधिकारीहरुको वार्ताले दुई बुँदे सहमति गरेको छ । दुई बुँदे सहमतिमा युनियनले सरोकार जनाएका बिषयलाई सम्बोधन गर्दै महासंघले अर्को बिज्ञप्ति निकाल्ने र युनियनले ताला खोल्ने सहमति भएको युनियनका अध्यक्ष बद्री सिग्देल र महासंघ सभापति डा। महेन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

युनियनले असन्तुष्टि जनाएका केहि जिल्लाहरुमा केन्द्रिय पदाधिकारीको रहोबरमा अधिवेशन भइसकेको छ भने नुवाकोट, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा देखिएको विवाद महासंघको सचिवालयले सहमतिका आधारमा समाधान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्