केन्द्रीय कार्यालय अब काठमाडौंमा



काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंक लिले कास्की, पोखरामा रहेको आफ्नो केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा स्थानान्तरण गरी बुधबार शुभारम्भ गरेको छ। काठमाडौंमा रहेको केन्द्रीय कार्यालयको एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्नुभयो। सोही अवसरमा गभर्नर पदमा रही नेपालको वित्तीय क्षेत्रको विकासमा पुर्याउनुभएको योगदानको मूल्यांकन गर्दै १० जना पूर्वगभर्नरहरूलाई पनि सम्मान गरिएको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मीनप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीति बारेमा चर्चा गर्नुभयो। उहाँले बैंकले नेपाली समाजका विद्यमान समस्याहरू समाधान गर्न र कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरू कार्यान्वयनमा ल्याउने बताउनुभयो। समरोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, पूर्वगभर्नरहरू मध्येबाट डा. युवराज खतिवडाले आ–आफ्नो भनाइ राख्नुभयो।

बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो ४४ वटा आधुनिक बैंकिङ शाखा, ९ वटा सीमित बैंकिङ र ३ वटा एक्स्टेन्सन काउन्टरअन्तर्गत ५० वटा लघुवित्त डेस्क कार्यालयहरूबाट १ लाखभन्दा बढी लघुवित्त सदस्यहरूसहित कुल ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ। यस विकास बैंकको हालसम्म कुल रु. १५ अर्ब निक्षेप संकलन गरी रु. १३ दशमलव ५ अर्ब कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्